अर्जेन्टिना क्वाटरफाईनलमा

विराटनगर २४ असार । साविक विजेता अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट अविश्वसनीय पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ । यससँगै कप्तान लियोनल मेसीको विश्वकप यात्रा पनि जारी रहँदै टोली क्वाटरफाइनलमा पुगेको छ ।

एटलान्टामा भर्खरै सम्पन्न अन्तिम–१६ को खेलमा यासेर इब्राहिम र मोस्तफा जिकोले गोल गर्दै इजिप्टलाई २–० को अग्रता दिलाएका थिए । यसबीच मेसीले पाएको पेनाल्टी पनि गोलकिपर मोस्तफा शोबेरले बचाएका थिए ।

तर खेलको अन्तिम ११ मिनेट र इन्जुरी समय अर्जेन्टिनाका लागि ऐतिहासिक बन्यो। क्रिस्टियन रोमेरोले हेडरमार्फत पहिलो गोल गर्दै पुनरागमनको संकेत दिए ।

त्यसपछि मेसीले शानदार हाफ–भलीमार्फत बराबरी गोल गरे भने इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले उत्कृष्ट हेडर गोल गर्दै अर्जेन्टिनालाई ३–२ को रोमाञ्चक जित दिला ।

यो गोलसँगै मेसीले लगातार नवौं विश्वकप खेलमा गोल गर्ने कीर्तिमान कायम गरे। साथै उनले यस संस्करणमा आफ्नो गोल संख्या आठ पुर्‍याउँदै गोल्डेन बुट दौडमा फेरि अग्रता बनाए ।

खेल सकिएपछि मेसी भावुक बनेका थिए । उनले आँसु झार्दै आफ्ना टोलीका साथीहरूलाई अँगालो हाले ।

पराजयपछि इजिप्टले भने रेफ्रीको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएको छ। दोस्रो हाफको सुरुआतमै मोहमद सलाहको पासमा मोस्तफा जिकोले गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को हस्तक्षेपपछि फाउल देखाउँदै रद्द गरिएको थियो । उक्त निर्णय निकै विवादास्पद बनेको थियो ।

अर्जेन्टिनाको विजयी गोलपछि इजिप्टको प्रशिक्षक टोलीका एक सदस्यले रातो कार्ड पनि पाए । अब अर्जेन्टिनाले शनिबार हुने क्वाटरफाइनलमा कोलम्बिया वा स्विट्जरल्यान्डमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम–३२ मा केप भर्डमाथि ३–२ को कठिन जित निकालेपछि प्रशिक्षक लियोनल स्कालोनीले टोलीमा केही परिवर्तन गरेका थिए । निकोलस टालियाफिको, लियान्द्रो परेडेस र जुलियन अल्भारेजलाई सुरुआती रोजाइमा राखिए पनि अर्जेन्टिनाले फेरि सुस्त सुरुआत गर्‍यो ।

मारवान अट्टियाको क्रसलाई यासेर इब्राहिमले हेडमार्फत गोल गर्दै इजिप्टलाई अग्रता दिलाए।

त्यसको पाँच मिनेटपछि टालियाफिकोलाई पेनाल्टी क्षेत्रमा हैसेम हसनले लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। तर मेसीको प्रहार शोबेरले उत्कृष्ट बचाउ गरे ।

विश्वकपमा मेसीले हानेका आठ पेनाल्टीमध्ये यो चौथो असफल पेनाल्टी बन्यो। साथै एउटै विश्वकप संस्करणमा दुई पेनाल्टी गुमाउने पहिलो खेलाडी पनि उनी बने। यसअघि उनले समूह चरणमा अस्ट्रियाविरुद्ध पनि पेनाल्टी चुकाएका थिए ।

इजिप्टका गोलकिपर मोस्तफा शोबेरले खेलभर उत्कृष्ट प्रदर्शन गरे । उनले एलेक्सिस म्याक एलिस्टरको नजिकबाट आएको शक्तिशाली हेडर बचाए भने जुलियन अल्भारेजको उत्कृष्ट प्रहारलाई पनि शानदार रूपमा रोक्दै अर्जेन्टिनालाई लामो समय निराश बनाए ।

खेलको ६०औं मिनेटतिर मोहमद सलाहको पासमा मोस्तफा जिकोले गोल गर्दै इजिप्टको अग्रता दोब्बर बनाएको जस्तो देखिएको थियो । तर आक्रमण सुरु हुनुअघि लिसान्द्रो मार्टिनेजमाथि फाउल भएको भन्दै भीएआरले गोल रद्द गरिदियो ।

त्यसको केहीबेरपछि सलाहकै अर्काे आक्रमणमा हैसेम हसनको क्रसलाई जिकोले गोल गर्दै इजिप्टलाई २–० ले अघि बढा ए।

दोस्रो हाफको ‘कुलिङ ब्रेक’ सम्म आइपुग्दा अर्जेन्टिनाका खेलाडीहरू, विशेषगरी मेसी, निराश देखिएका थिए । तर त्यसपछि रोमेरोको हेडर गोलले टोलीलाई पुनर्जीवित गरायो ।

लगत्तै मेसीको उत्कृष्ट व्यक्तिगत प्रयासमा लाउटारो मार्टिनेजले हेडर प्रहार गरे पनि बल लक्ष्यभन्दा थोरै बाहिरियो ।

खेल सकिन सात मिनेट बाँकी रहँदा गोन्जालो मोन्टिएलको पासमा मेसीले हाफ–भलीमार्फत शानदार गोल गर्दै खेल बराबरीमा ल्याए। शोबेरले बल छोए पनि त्यसलाई रोक्न सकेनन् र बल बारमा लागेर जाली चुम्यो। यो मेसीको विश्वकपमा २१औं गोल थियो ।

त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजको क्रसमाथि एन्जो फर्नान्डेजले शक्तिशाली हेडर गर्दै अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन पूरा गरे ।