बालुघाट पर्यटन क्षेत्रः विकासपछि संरक्षण अभावले जीर्ण

कटहरी-कोशी प्रदेशको राजधानी विराटनगरसँग जोडिएको मोरङको कटहरी गाउँपालिका–६, केसोरिया गाउँस्थित बालुघाट पर्यटन क्षेत्र संरक्षण अभावका कारण अहिले ओझेलमा परेको छ ।
करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएका भौतिक संरचना जीर्ण बन्दै गएका छन् भने पर्यटन क्षेत्रको संरक्षण र प्रवद्र्धनमा स्थानीय, प्रदेश तथा संघीय सरकारको पर्याप्त ध्यान पुग्न नसकेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन ।

बालुघाट पर्यटन क्षेत्रको विकास गर्ने अवधारणा २०७६ सालमा तत्कालीन गाउँपालिका अध्यक्ष रामकुमार कामत र उपाध्यक्ष मन्जिता सरदारले अघि सारेका थिए । वनभोज, प्राकृतिक दृश्यावलोकन तथा आन्तरिक पर्यटन प्रवद्र्धनलाई लक्ष्य बनाएर करोडौं रुपैयाँ लगानीमा विभिन्न पूर्वाधार निर्माण गरिए पनि हाल ती अधिकांश संरचना मर्मतसम्भारको अभावमा जीर्ण अवस्थामा पुगेका छन।

कटहरी–६ मा करिब ८५ प्रतिशत बाँतर (सरदार) समुदाय र १५ प्रतिशत अन्य समुदायको बसोबास रहेको छ । सामाजिक, आर्थिक तथा शैक्षिक दृष्टिले पछाडि परेको बाँतर (सरदार) समुदाय २०५३ सालदेखि दलित सूचीमा सूचीकृत छ। स्थानीयका अनुसार यस समुदायको बाहुल्यता भएकै कारण पनि बालुघाट पर्यटन क्षेत्रको विकासमा सरकारले अपेक्षित प्राथमिकता नदिएको अनुभूति भएको छ ।
वडाध्यक्ष विसो सरदारका अनुसार वडाको सीमित बजेटबाट सामाजिक गतिविधि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा कर्मचारी व्यवस्थापनमै अधिकांश रकम खर्च हुने भएकाले पर्यटन क्षेत्रका लागि पर्याप्त बजेट छुट्याउन सम्भव भएको छैन ।

उहाँ भन्नुहुन्छ, ‘वडामा सीमित बजेट आउँछ। त्यही बजेटबाट सामाजिक कार्यक्रम, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र कर्मचारीको तलबभत्ताको व्यवस्थापन गर्नुपर्छ। त्यसैले वडाको बजेटबाट मात्रै बालुघाट पर्यटन क्षेत्रको विकास सम्भव छैन ।’ उहाँले आगामी गाउँसभा तथा बोर्ड बैठकमा बालुघाट पर्यटन क्षेत्रका लागि बजेट प्रस्ताव गर्ने र प्रदेश तथा संघीय सरकारसँग पनि संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

वडा सदस्य ममता सरदारले स्थानीय सरकारबाहेक प्रदेश र संघीय तहसँग पर्याप्त पहुँच नहुँदा बजेट ल्याउन कठिन भएको बताउनुभयो । आगामी दिनमा तीनै तहका सरकारसँग समन्वय गरी संरक्षण तथा प्रवद्र्धनका लागि पहल गर्ने र सम्भव भएसम्म वडाबाट पनि बजेट विनियोजन गराउने उहाँको भनाइ छ । उहाँका अनुसार बालुघाट पर्यटन क्षेत्रको विकास भए स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै आम्दानीका नयाँ स्रोतसमेत खुल्नेछन । यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सबै सरोकारवाला, युवा, बुद्धिजीवी र समाजसेवी एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सन्थाल सांस्कृतिक नृत्य प्रदर्शन, वनभोजका लागि टहरा, विद्युत, खानेपानीलगायत आवश्यक पूर्वाधार तयार गरिएको थियो । तर २०७९ सालपछि संरक्षणमा चासो नदिँदा अधिकांश संरचना जीर्ण बनेको  छ ।

वडा सदस्य श्यामलाल सरदारले पनि संरक्षणमा सबै पक्षको कमजोरी रहेको स्वीकार गर्दै भन्नुभयो, ‘दृश्यावलोकनका हिसाबले बालुघाट अन्य धेरै ठाउँभन्दा उत्कृष्ट छ । तर यसको विकास र संरक्षणमा आवश्यक ध्यान पुगेन ।’

हालसम्म बालुघाट पर्यटन क्षेत्रका लागि वडाबाट छुट्टै बजेट विनियोजन हुन सकेको छैन । आर्थिक वर्ष २०८३–०८४ मा पनि यस क्षेत्रका लागि बजेट छुट्याइएको छैन । यद्यपि यस वर्ष कम्तीमा १० लाख रुपैयाँ आन्तरिक स्रोतबाट घेराबेरा र शौचालय निर्माणका लागि पहल गर्ने प्रतिबद्धता वडा सदस्यहरूले जनाएका छन ।

कटहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीका अनुसार यस वर्ष पालिकाले बजेट अभावका कारण पर्यटन क्षेत्रका लागि रकम छुट्याउन सकेन । तर गाउँसभाबाट प्रस्ताव आएमा आवश्यक बजेट व्यवस्थापन गर्न सकिने सम्भावना रहेको उहाँले बताउनुभयो ।

पूर्व वडाध्यक्ष पृथ्वीलाल सरदारले तत्कालीन गाउँपालिका अध्यक्ष रामकुमार कामत र उपाध्यक्ष मन्जिता सरदारको नेतृत्वमा करोडौं रुपैयाँ लगानी गरेर पर्यटन पूर्वाधार निर्माण गरिएको स्मरण गर्नुभयो । उहाँका अनुसार स्थानीय रामलाल सरदारको संयोजकत्वमा ११ सदस्यीय संरक्षण समिति गठन गरी वृक्षरोपण, सरसफाइ तथा स्थानीय परिकारको व्यवस्थासमेत गरिएको थियो ।
त्यसबेला सन्थाल सांस्कृतिक नृत्य प्रदर्शन, वनभोजका लागि टहरा, विद्युत, खानेपानीलगायत आवश्यक पूर्वाधार तयार गरिएको थियो । तर २०७९ सालपछि संरक्षणमा चासो नदिँदा अधिकांश संरचना जीर्ण बनेको उहाँको भनाइ छ ।

नेपाल बाँतर सरदार समाज कल्याणकारी मोरङका पूर्व अध्यक्ष पन्नालाल सरदारले स्थानीय समुदायको सक्रिय सहभागितामै पर्यटन क्षेत्र निर्माण भएको बताउनुभयो । उहाँका अनुसार १९ कट्ठा क्षेत्रफलमा जनश्रमदानबाट पोखरी निर्माण गरिएको थियो ।

नेपाल बाँतर सरदार समाज कल्याणकारी केन्द्रीय समितिका सचिव सोनेलाल सरदारले संरक्षणका लागि सबैभन्दा पहिले स्थानीय स्तरमा जनचेतना आवश्यक रहेको बताउनुभयो ।

बालुघाट पर्यटन क्षेत्रमा करिब ७ बिघा क्षेत्रफलमा पोखरीसहितको पार्क निर्माण गरिएको छ भने २ बिघा ५ कट्ठा १७ धुर जग्गामा सुकुम्बासी परिवारको व्यवस्थापन गरिएको छ । तर पूर्वाधारहरू क्रमशः जीर्ण बन्दै गएका छन ।

स्थानीय शिक्षक विनोद सरदारले पर्यटन क्षेत्रमा थप वृक्षरोपण, फूलबारी निर्माण तथा आकर्षक सजावट गर्न सके सामाजिक सञ्जालमार्फत प्रचार बढ्ने र पर्यटकको चाप उल्लेख्य रूपमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय र सरोकारवाला निकायबीच समन्वय अपरिहार्य रहेको धारणा राख्नुभयो ।

स्थानीय युवा प्रकाश सरदार, दिलीप सरदार र देवु सरदारले तत्काल जीर्ण टहरा मर्मत गरी संरक्षणको जिम्मेवारी युवाहरूलाई दिइए पर्यटन क्षेत्र पुनः सक्रिय बन्न सक्ने बताए ।
स्थानीय रामलाल सरदार र सुरेश यादवले राजनीतिक खिचातानीका कारण पर्यटन क्षेत्र ओझेलमा परेको गुनासो गरे। अर्का स्थानीय शुभाष सरदारले सरसफाइ अभियान सञ्चालन गरी तीनै तहका सरकारसँग संरक्षणका लागि पहल गरिने बताउनुभयो ।
हाल बालुघाट पर्यटन क्षेत्रमा करिब ७ बिघा क्षेत्रफलमा पोखरीसहितको पार्क निर्माण गरिएको छ भने २ बिघा ५ कट्ठा १७ धुर जग्गामा सुकुम्बासी परिवारको व्यवस्थापन गरिएको छ । तर पूर्वाधारहरू क्रमशः जीर्ण बन्दै गएका छन ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पर्यटन क्षेत्रको संरक्षण तथा व्यवस्थापनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो ।
गाउँपालिकाका इन्जिनियर राकेशकुमार यादवका अनुसार पर्यटन क्षेत्र निर्माणका लागि विभिन्न आर्थिक वर्षमा संघीय, प्रदेश तथा स्थानीय सरकारबाट ठूलो लगानी भएको छ ।
                                          पर्यटन क्षेत्र निर्माणका लागि भएको खर्च
२०७६–०७७ : संघीय सरकारबाट रु. २६ लाख ९५ हजार ४२१
२०७७–०७८ : संघीय सरकारबाट रु. ५६ लाख १५ हजार ३९७
२०७८–०७९ : गाउँपालिकाबाट रु. २५ लाख २६ हजार र प्रदेश सरकारबाट रु. ४ लाख ९९ हजार
२०७९–०८० : रु. ३६ लाख ३८ हजार १०
२०८०–०८१ : रु. १० लाख ९४ हजार ६८

यसरी हालसम्म पार्क निर्माणमा जम्मा रु. १ करोड ८६ लाख ५१ हजार ८९६ खर्च भइसकेको गाउँपालिकाको तथ्यांक छ। यति ठूलो लगानी भए पनि संरक्षणको अभावमा पर्यटन क्षेत्र जीर्ण बन्दै गएको स्थानीयको भनाइ छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण बालुघाट क्षेत्रमा हरियाली वन, लोहन्द्रा खोला, पोखरी, पार्क तथा वनभोज स्थललाई व्यवस्थित रूपमा विकास गर्न सकिए यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान र्पुयाउने विश्वास गरिएको छ।

स्थानीयका अनुसार कटहरी र धनपालथान गाउँपालिकाको समन्वयमा लोहन्द्रा खोलामा ढोकासहितको बाँध निर्माण गर्न सके करिब पाँच किलोमिटरसम्म डुंगा वा जलयात्रा सञ्चालन गर्न सकिने सम्भावना छ। यसले पर्यटन प्रवद्र्धनसँगै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ ।

पर्याप्त संरक्षण, नियमित मर्मतसम्भार र दीर्घकालीन योजना लागू गर्न सके बालुघाट पर्यटन क्षेत्र पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने स्थानीयको विश्वास छ ।