कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिने

विराटनगर १६ असार । कोशी प्रदेशलाई पूर्ण खोप सुनिश्चिताको भएको घोषणा गरिने भएको छ । आगामी असार ३० गते भित्रमा सुनिश्चिताको घोषणा गरिने भएको हो । राष्ट्रिय खोप कार्यक्रमको समीक्षा एवं प्रदेश पूर्णखोप सुनिश्चितता घोषणाबारे खोप समन्वय समितिको आज विराटनगरमा बसेको बैठकले असार ३० गते भित्रमा घोषणा गर्ने निर्णय गरेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले १४ वटै जिल्लाले पूर्णखोप खोप सुनिश्चितता घोषणा गरिसकेकाले अव प्रदेश घोषणा बाँकी रहेको बताउनुभयो । गत चैत ३ देखि असार १६ गते सम्ममा कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्ण खोप सुनिश्चिताको घोषणा गरिसकेका छन् । चालु आर्थिक २०८२–०८३ मा पाँचथर जिल्लाले प्रदेशमै पहिलो पटक पूर्ण खोप सुनिश्चिताको घोषणा गरेको थियो ।

असार १६ गते खोटाङले पूर्ण खोप सुनिश्चिताको घोषणा गरेको छ । कोशी प्रदेशका १३७ वटै स्थानीय तहका १ हजार १५७ वटा वडाले खोप सुनिश्चिताको घोषणा गरिसकेको खोप अधिकृत भण्डारीले बताउनुभयो ।

कोशी प्रदेशका सवै जिल्लाले पूर्णखोप सुनिश्चिताको घोषणा गरिसकेकाले अव प्रदेश घोषणाको तयारी रहेको उहाँले बताउनुभयो । खोप समन्वय समितिको बैठकले असार ३० गते भित्रमा प्रदेशलाई घोषणा गरिने बताउनुभयो । खोप कभरेज कम हुनु, प्राप्त लक्ष्य र प्रगतिमा तालमेल नहुनु मुख्य चुनौती रहेको खोप अधिकृत भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ सबै तहमा कभरेजमा एकरुपता छैन । खोप शुन्य र ड्रप आउट बच्चा भई रहनु , खोपबाट बचाउन सकिने रोगहरु देखा परिरहने चुनौती छ ।’

जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झाले ड्र्प आउटलाई शुन्यमा झार्नुपर्ने बताउनुभयो । १६ प्रतिशत बालबालिका ड्रप आउट हुनुको कारण खोजी गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो अवस्था दोहोरिनु हुँदैन । कुन वडामा, कुन कारणले बालबालिका खोपबाट छुटे भन्ने यकिन गरेरै हामीले अघिल्लो वर्षका कमीकमजोरीको मूल्यांकन गर्नुपर्छ । पहुँचको समस्या हो कि सूचनाको कमी, कि अभिलेखीकरणमै त्रुटि हो भन्ने पहिचान भएपछि मात्र पूर्णखोप घोषणा साँच्चिकै अर्थपूर्ण हुन्छ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा खोप कभरेजमा देखिएको असमानता, स्थानीय तहमा कोल्डचेन व्यवस्थापन, खोपबाट बचाउन सकिने रोगको जोखिम लगायतका विषयमा पनि छलफल गरिएको थियो ।

वक्ताहरूले समुदायस्तरसम्म पुगेर खोप लगाउनबाट छुटेका बालबालिकाको पहिचान गरी खोपको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल सरकारले क्षयरोग, रोटा, पोलियोमाइलाईटिस, न्यूमोनिया, मेनिन्जाईटीस, भ्यागुतेरोग, लहरेखोकी, हेपाटाईटीस बी, धनुष्टंकार, दादुरा, रुबेला, जापानिज इन्सेफलाइटिस र टाइफाइड) रोग बिरुद्दका खोपहरु दिने गरेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनु्सार चालु आर्थिक वर्षमा ०–१५ महिनाका ७९ हजार ८२७ र १६ देखि ५९ महिनाका २ लाख ८ हजार २०१ ले पूर्ण खोप लगाएका छन् ।