अभिषेक गिरी पक्राउ पर्दा मोरङ कारागार भित्र प्रदर्शन

विराटनगर १३ असार । मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूसँग अवैध रकम असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ पर्दा मोरङ कारागार भित्र प्रदर्शन भएको छ । कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग आरोपमा गिरी शनिबार पक्राउ परेपछि कारागारभित्र प्रदर्शन भएको हो ।

गिरी शनिबार बिहान विराटनगर–८, मधुमारास्थित घरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि शनिबार दिउँसो कैदीबन्दीले कारागार भित्र प्रदर्शन गरेका हुन् । जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार ब्लक बी का कैदीबन्दीले गिरीको पक्षमा प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । सोही ब्लकका कैदीबन्दीको १३ लाख ४० हजार भत्ता दुरुपयोग गरेको आरोप गिरीमाथि छ ।

ब्लक ए का कैदीबन्दीले भने गिरीविरुद्ध प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् । मोरङ कारागारमा ३ वटा ब्लक छन् । ती ब्लकमा रहेका १ हजार १ सय ८५ कैदीबन्दीलाई गर्मीभत्ता बापत २ हजार ५ सयका दरले वितरण गरिएको थियो ।

जेलर घिमिरेका अनुसार ए ब्लकमा ५३९ जना, बी ब्लकमा ५३६ जना र महिला ब्लकमा ११० जना छन् । बी ब्लकका ५३६ जनालाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ भने वितरण गरेको केही समयमा गायब भएको थियो । सोही घटनामा जोडिएपछि गिरी पक्राउ परेका थिए । शनिबार बिहान पक्राउ परेका उनी छाती दुख्यो भन्दै अस्पताल भर्ना भएका छन् । छाती दुख्यो भनेपछि उनलाई प्रहरीले कोशी अस्पताल भर्ना गरेको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष सजाय भुक्तान पछि गिरी दुई वर्षयता कारागार बाहिर छन् । तर, कारागार भित्रको आन्तरिक व्यवस्थापन अझै उनले हस्तक्षेप गरिरहेको आरोप छ ।