विराटनगर ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत मङ्गलबार बन्दसत्रको कार्यक्रम हुँदै छ । सोमबारका लागि तय गरिएको बन्दसत्र प्रतिनिधि परिचयपत्र वितरण कार्य समयमै सम्पन्न हुन नसकेपछि मङ्गलबारसम्मका लागि स्थगित गरिएको हो ।
पार्टीले प्रतिनिधिहरूको विवरण प्रमाणीकरण, नामावली रुजु तथा परिचयपत्र छपाइको काममा अपेक्षाभन्दा बढी समय लागेकाले बन्द सत्र सार्नु परेको पार्टीका प्रवक्ता मनीष झाले जानकारी दिनुभयो । महाधिवेशन स्थल भरतपुरमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता झा र केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले बन्दसत्र स्थगित गर्नुको कारणबारे जानकारी गराउनुभयो ।
उहाँहरूले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको आधिकारिक विवरण यकिन गर्ने, नामावली प्रमाणीकरण गर्ने तथा परिचयपत्र वितरण कार्यलाई व्यवस्थित बनाउन आवश्यक समय लागेकाले सोमबारका लागि निर्धारित कार्यक्रम सञ्चालन गर्न नसकिएको बताउनुभयो ।