विराटनगरको बजार चलायमान बनाउन ‘विराट ट्रेड फेयर’ : अध्यक्ष अग्रवाल

विराटनगरमा आगामी असोज २२ देखि ३० गतेसम्म ‘विराट ट्रेड फेयर’ आयोजना हुँदैछ । विराट व्यापार संघको आयोजनामा विराटनगरस्थित जैन भवनमा हुने फेयरमा एक सय वटा स्टल रहनेछन् । करिब ४ हजार २ सय सदस्य रहेको विराट व्यापार संघले १५ वर्षपछि दोस्रोपटक विराटनगरमा व्यापार मेला आयोजना गर्न लागेको हो । दशैंको अवसर पारेर आयोजना गर्न लागिएको ट्रेड फेयरमा स्वदेशी तथा विदेशी उत्पादनका विभिन्न स्टल रहनेछन् । ट्रेड फेयर आयोजनामा विराटनगर महानगरपालिका, कोशी प्रदेश सरकार, उदय परियोजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङलगायतका निकायको सहयोग तथा सहकार्य रहेको छ । फेयरको तयारी, उद्देश्य, आकर्षण र विराट व्यापार संघका आगामी योजनालगायतका विषयमा अरुण खबरले विराट व्यापार संघका अध्यक्ष प्रमोद अग्रवाल (जिन्दल)सँग गरेको कुराकानीको सम्पादित अंश :

विराट ट्रेड फेयरको तयारी कस्तो भइरहेको छ ?
आगामी असोज २२ देखि ३० गतेसम्म हुने विराट ट्रेड फेयरको तयारीलाई हामीले तीव्रता दिएका छौँ । फेयर आयोजनाको तयारीसँगै विभिन्न पक्षसँगको छलफललाई पनि सँगसँगै अगाडि बढाइरहेका छौँ । सबै पक्षको सुझाव लिएर अघि बढ्ने प्रयास भइरहेको छ । अहिले मेला स्थलको आन्तरिक सजावटको अन्तिम तयारी भइरहेको छ । दशैंको अवसरमा विराटनगरवासीलाई एउटै थलोमा किनमेल गराउने र उपभोक्तालाई सिधै फ्याक्ट्रीसँग जोडेर भारी छुटमा सामान उपलब्ध गराउने मुख्य उद्देश्यका साथ फेयर आयोजनाको तयारी भइरहेको छ । हाम्रो प्रयास भनेको उपभोक्ताले एउटै स्थानमा विभिन्न प्रकारका सामान हेर्न, तुलना गर्न र खरिद गर्न सक्ने वातावरण बनाउनु हो । त्यसका साथै उद्योगबाट सिधै उपभोक्तासम्म सामान पुग्ने अवस्था सिर्जना गरेर उपभोक्तालाई सहुलियत दिने उद्देश्य पनि राखिएको छ ।

ट्रेड फेयरमा कतिवटा स्टल रहनेछन् ? स्टल बुकिङको अवस्था कस्तो छ ?
ट्रेड फेयरमा एक सय वटा स्टल रहनेछन् । अहिले सबै स्टल शतप्रतिशत बुक भइसकेका छन् । स्टल बुकिङको काम सकिएको छ र अब हामी स्टल तयारीतर्फ लाग्दैछौँ । फेयरमा अटोमोबाइल, कपडा, जुत्ता, फर्निचर, टायल, प्लम्बिङलगायतका विभिन्न सामग्रीका स्टल रहनेछन् । त्यसैगरी स्थानीय उत्पादनलाई पनि विशेष स्थान दिइएको छ। ढाका, मह, अचार, भोजपुरे खुकुरीलगायतका स्थानीय उत्पादनहरू फेयरमा देख्न पाइनेछ । खाद्य संस्थानबाट छुट मूल्यमा चिनी, चामल तथा अर्गानिक खाद्य सामग्रीहरू पनि उपलब्ध हुनेछन् । एसियन बिस्कुट, बागमती आयलजस्ता ठूला नेपाली ब्रान्डहरूका साथै भारत, पाकिस्तान र बंगलादेशका उत्पादनका स्टलसमेत रहनेछन् । समग्रमा व्यापार र किनमेललाई नै फेयरको मुख्य प्राथमिकता दिइएको छ। उद्योगहरूले सिधै उपभोक्तालाई सामान उपलब्ध गराउन सकून् र उपभोक्ताले भारी छुटमा सामान खरिद गर्न सकून् भन्ने उद्देश्यले उद्योगहरूलाई बढी प्राथमिकता दिएका छौँ ।

फेयरमा मनोरञ्जनका कार्यक्रम पनि हुनेछन् ?
हुन्छ । फेयरमा व्यापार तथा किनमेल मुख्य विषय भए पनि मनोरञ्जनलाई पनि समेटेका छौँ । साँझ ४ बजेदेखि ७ बजेसम्म कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रमका लागि नेपाली कलाकारहरूलाई मात्र आमन्त्रण गरिनेछ । हामीले व्यापारसँगै मनोरञ्जनको वातावरण पनि बनाउने प्रयास गरेका छौँ । परिवारसहित फेयरमा आउने वातावरण होस् भन्ने हाम्रो चाहना हो । फेयर बिहान ११ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुनेछ । दैनिक करिब १० हजारका दरले जम्मा १ लाखदेखि १ लाख २५ हजारसम्म दर्शकको उपस्थिति रहने अपेक्षा गरेका छौँ ।

दशैंको समयमा नै ट्रेड फेयर आयोजना गर्नुको कारण के हो ?
हरेक वर्ष दशैंको समयमा हामीले एउटै समाचार सुन्दै र देख्दै आएका छौँ– ‘विराटनगरको बजार सुनसान, जोगबनी बजार गुलजार ।’ यसबाट थोरै भए पनि राहत दिने उद्देश्यले हामीले दशैंको समयमा ट्रेड फेयर आयोजना गर्ने निर्णय गरेका हौँ । विराटनगरमा व्यापारको ठूलो सम्भावना छ । तर दशैंको समयमा सीमापार गएर किनमेल गर्ने प्रवृत्तिका कारण स्थानीय बजारमा त्यसको प्रभाव पर्ने गरेको गुनासो व्यापारीहरूले गर्दै आएका छन् । यही अवस्थालाई केही हदसम्म सम्बोधन गर्न र विराटनगरको व्यापारलाई चलायमान बनाउन ट्रेड फेयर आयोजना गर्न लागिएको हो । दशैंको बेला मेला आयोजना गर्दा केही चुनौती पनि छन् । कर्मचारीको अभाव हुन सक्छ । व्यापारीहरूलाई आफ्ना स्टल हेर्न पनि केही कठिनाइ हुन सक्छ । तर चुनौती हुँदाहुँदै पनि विराटनगरमा दशैंको समयमा चहलपहल बढाउने प्रयास गरेका छौँ । विराटनगर, मोरङ र सुनसरीका सर्वसाधारण तथा उपभोक्तालाई मेलासम्म ल्याउन सञ्चार माध्यमको ठूलो सहयोग आवश्यक छ । सञ्चार माध्यमले फेयरका विषयमा सूचना प्रवाह गरिदिँदा उपभोक्तासम्म यसको जानकारी पुग्नेछ । हाम्रो मुख्य अपेक्षा भनेको ट्रेड फेयरबाट स्थानीय व्यापारको प्रवद्र्धन होस् भन्ने हो । ‘विराटनगर सुनसान भयो, मानिसहरू जोगबनीतिर मात्र गए’ भन्ने गुनासोलाई सम्बोधन गर्दै स्थानीय व्यापारलाई चलायमान बनाउन यो पहल गरिएको हो ।

फेयरका मुख्य आकर्षण के–के हुनेछन् ?
फेयरमा विभिन्न उत्पादनका स्टलहरू त रहने नै छन् । त्यसबाहेक उपहार, छुट तथा प्रवद्र्धनका कार्यक्रम पनि राखिएका छन् । मेलामा दैनिक फरक–फरक स्टलमार्फत उपहार वितरण गरिनेछ । बम्पर उपहारका रूपमा एकजनालाई ईभी स्कुटी तथा अन्य सान्त्वना पुरस्कार वितरण गर्ने तयारी छ। तर हाम्रो उद्देश्य मेला आयोजना गरेर नाफा कमाउनु होइन । मेला नाफा कमाउनका लागि नभई विराटनगरको व्यापारलाई चलायमान बनाउन आयोजना गरिएको हो । स्वदेशी किनमेललाई प्रोत्साहन गर्नु हाम्रो अर्को मुख्य उद्देश्य हो। जोगबनी वा सीमापार गएर किनमेल गर्नुको सट्टा आफ्नै देशमा किनमेल गर्दा सरकारले ल्याएको ‘लखपति अफर’ तथा क्युआर भुक्तानीका फाइदाहरू प्राप्त गर्न सकिने भएकाले स्वदेशी व्यापारलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ । फेयरमा ७८ वटा स्टल डोमभित्र रहनेछन्। अटोमोबाइल र खाद्यान्नका स्टलहरू भने जैन भवनको पुरानो भवनभित्र रहनेछन् । बालबालिका तथा विद्यार्थीलाई आकर्षित गर्न पहिलोपटक रोबोट प्रदर्शनमा ल्याइँदैछ। त्यसैगरी पूर्व क्षेत्रका पर्यटकीय क्षेत्रहरू तथा दुर्गा पूजाको दुर्गा माताको फोटोसहित आकर्षक सेल्फी जोन बनाइँदैछ। यसले फेयरमा आउने बालबालिका, विद्यार्थी तथा परिवारलाई थप आकर्षित गर्ने अपेक्षा गरेका छौँ ।

विराट व्यापार संघले १५ वर्षपछि फेरि व्यापार मेला आयोजना गर्दैछ । संघको पछिल्लो गतिविधिलाई कसरी हेर्नुभएको छ ?
विराट व्यापार संघले लामो अन्तरालपछि, अर्थात् १५ वर्षपछि विराटनगरमा यो व्यापार मेला पुनः आयोजना गर्न लागेको हो । यसबीचमा संघका विभिन्न गतिविधिहरू पनि सञ्चालन भएका छन् । म अध्यक्ष भएपछि व्यापारीहरूका लागि सचेतना कार्यक्रम सञ्चालन गरेका छौँ । सरकारको नयाँ कर नीति र एमआरपीसम्बन्धी नियमका विषयमा व्यापारीहरूलाई जानकारी गराइएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना छ । त्यसैगरी डिजिटल भुक्तानी प्रणालीका विषयमा पनि व्यापारीहरूलाई अभिमुखीकरण गरिएको छ । अहिले व्यापारको स्वरूप परिवर्तन भइरहेको छ । प्रविधिको प्रयोग बढिरहेको छ । त्यसैले व्यापारीहरूलाई नयाँ प्रणाली तथा सरकारका नीति–नियमका विषयमा जानकारी गराउनु आवश्यक छ । देशमा स्थिर सरकार आवश्यक छ। अहिले हामीले स्थिर सरकार पाएका छौँ । सरकारले ल्याएका नीति–नियमलाई सही तरिकाले कार्यान्वयन गराएर सरकार र व्यापारी दुवैलाई फाइदा पुग्ने वातावरण निर्माण गर्ने हाम्रो लक्ष्य हो ।

तपाईंको कार्यकालका मुख्य प्राथमिकता के–के हुन् ?
मेरो कार्यकालमा विराट व्यापार संघलाई नयाँ गति दिने योजना छ । व्यापारीहरूलाई आवश्यक पर्ने सूचना, ज्ञान र सीपसँग जोड्ने कार्यक्रमलाई निरन्तरता दिनेछौँ । सरकारले ल्याउने नयाँ कर नीति, नियम तथा व्यापारसँग सम्बन्धित व्यवस्थाका विषयमा व्यापारीलाई जानकारी गराउनु आवश्यक छ । त्यसैले सचेतना र अभिमुखीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ । व्यापारीहरूका लागि डिजिटल भुक्तानी प्रणालीका विषयमा पनि कार्यक्रम सञ्चालन गरेका छौँ । आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिनेछौँ । विराट व्यापार संघको बिजनेस कार्डका आधारमा विभिन्न अस्पतालमा व्यापारीहरूलाई उपचारमा छुटको व्यवस्था गरिएको छ । यसले संघसँग आबद्ध व्यापारीलाई प्रत्यक्ष लाभ पुग्ने अवस्था बनेको छ । त्यसैगरी मेला र तिहारपछि महिला उद्यमीहरूका लागि विशेष कार्यक्रम सञ्चालन गर्न विभिन्न निकायसँग पहल भइरहेको छ। महिला उद्यमीलाई पनि व्यापार तथा उद्यमका क्षेत्रमा थप सक्रिय बनाउन यस्ता कार्यक्रम आवश्यक छन् । समग्रमा मेरो कार्यकालमा संघलाई नयाँ गति दिने र व्यापारीका लागि उपयोगी गतिविधि बढाउने योजना छ ।

अन्त्यमा, विराट ट्रेड फेयरबाट तपाईंहरूको अपेक्षा के छ ?
हाम्रो मुख्य अपेक्षा विराटनगरको व्यापारलाई चलायमान बनाउनु हो । यो मेला नाफा कमाउने उद्देश्यले आयोजना गरिएको होइन । स्थानीय व्यापारको प्रवद्र्धन, स्वदेशी उत्पादनको प्रयोग तथा उपभोक्तालाई एउटै थलोमा विभिन्न सामान उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको हो । दशैंको समयमा विराटनगरमा चहलपहल बढोस्, विराटनगर, मोरङ र सुनसरीका उपभोक्ता यहाँ आएर किनमेल गरून् र स्थानीय व्यापारी तथा उद्योगले त्यसको लाभ लिन सकून् भन्ने हाम्रो अपेक्षा छ । उद्योगबाट सिधै उपभोक्तासम्म सामान पुग्दा उपभोक्ताले छुट पाउन सक्छन् । स्थानीय उत्पादनले बजार पाउन सक्छ । व्यापारिक गतिविधि बढ्न सक्छ। त्यसैले यसलाई विराटनगरको व्यापार प्रवद्र्धन गर्ने एउटा प्रयासका रूपमा लिनुपर्छ । फेयर सफल बनाउन सबैको सहयोग आवश्यक छ । विशेषगरी उपभोक्ता, व्यापारी, उद्योगी, विभिन्न संघ–संस्था, सरकारी निकाय र सञ्चार माध्यमको सहयोगले ट्रेड फेयरलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।