विराटनगर ८ असोज । एमालेको केन्द्रीय समिति बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा अनुमोदन गरेको छ । पार्टी सचिवालयको आजको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो ।
एमालेले गत फागुनको चुनावमा हारेपछि पार्टीभित्र समीक्षा गर्दै जेठमा सदस्यता खुलाउने निर्णय गरेको थियो । त्यसअघि एमालेले राष्ट्रपति भएर देशको अभिभावकत्व गरिरहेको व्यक्ति पार्टी राजनीतिमा आउन नमिल्ने तर्क गर्दै भण्डारीको सदस्यता रोकेको थियो । सात वर्षभन्दा बढी राष्ट्रपति भएर बाहिरिएकी भण्डारी पुनः पार्टी राजनीतिमै आउन चाहेकी थिइन् । तर पार्टीभित्रको शक्ति सन्तुलनमा उनको निर्णायक भूमिका हुने देखिएपछि अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले उनको पुनः राजनीतिक सक्रियतालाई रोक्नु भएको थियो ।
पार्टीभित्रको सन्तुलनमा पुनः बिग्रिएपछि अध्यक्ष ओली नै भण्डारीलाई पार्टीमा सक्रिय हुने बाटो खोल्न तयार हुनु भएको हो । भण्डारीले गत ११ औं महाधिवेशन अघि नै पार्टीमा सक्रिय भएर नेतृत्वमा आउने योजना बनाउनु भएको थियो । तर सदस्यता नै नभएपछि भण्डारी सक्रिय हुन पाउनु भएन । अब अहिले एमालेले गर्ने निर्णयले उहाँलाई पार्टीमा सक्रिय हुन सहज बनाएको छ । भण्डारी यसअघि एमालेको उपाध्यक्ष हुनुहुन्थयो । यसैवीच नेकपा एमालेले केन्द्रीय कमिटी बैठकका निर्णयलाई गम्भीरतापूर्वक बोध र निष्ठापूर्वक कार्यान्वयन गर्न नेता कार्यकर्तालाई आग्रह गरेको छ ।
बैठकपछि महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गरेको बताउनुभयो । विज्ञप्तिमा भनिएको छ, ‘बैठकले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न र पार्टी पुनर्जागरण एवं सुदृढीकरणका ठोस योजना निर्माण गर्ने सम्बन्धमा अत्यन्त महत्त्वपूर्ण रह्यो । बैठकमा हामीले विगतमा रहेका कमीहरूको गम्भीर समीक्षा गरेका छौँ, तिनलाई सच्याउँदै आगामी दिनमा नदोहोर्याउने प्रण गरेका छौँ।’ बैठकले सुधार तथा रूपान्तरणको मार्गचित्र तयार गरेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस बिचमा देखा परेका कतिपय असमझदारी र अस्वस्थताहरू यस बैठकदेखि अन्त्य भएका छन् र पार्टी भावनात्मक रूपमा थप एकजुट भएको छ ।’ बैठकको सन्देशलाई आत्मसात् गर्दै लोकतन्त्रको रक्षा र निर्वाचनको तयारी सम्बन्धी पार्टीले तय गरेका प्रमुख कार्यभारमा केन्द्रित हुन आह्वान गरेको छ।