विराटनगर ३ असार । नेपाली चिया निकासीकामा भारतीय पक्षबाट सिर्जना गरिएका अवरोध हटाउन नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले सरकारसँग माग गरेको छ ।
महासंघले चिया क्षेत्रमा देखिएको वर्तमान संकट समाधानका लागि अविलम्ब उच्चस्तरीय कूटनीतिक पहल थाल्न सरकारसँग माग गरेको हो ।
महासंघका अध्यक्ष राजेन्द्र राउतले भारतीय पक्षले गुणस्तर परीक्षणका नाममा नेपाली चियामाथि लगाएको गैरभन्सार अवरोधका कारण निर्यात ठप्प भएको बताउनुभयो । उहाँले नेपाली चिया उद्योग, किसान र श्रमिकको हित संरक्षणका लागि महासंघ प्रतिबद्ध रहेको उल्लेख गर्दै सहज निर्यातको वातावरण बनाउन सरकारले ढिलाइ गर्न नहुने बताउनुभयो ।
भारतीय अवरोधकै कारण तीन दिनदेखि इलामका चिया उद्योगहरू अनिश्चितकालका लागि बन्द भएका छन् । उद्योग बन्द हुँदा यस क्षेत्रमा प्रत्यक्ष रूपमा कार्यरत २० हजारभन्दा बढी श्रमिक र उनीहरूमा आश्रित परिवारको जीविकोपार्जन संकटमा परेको छ । श्रमिकसँगै उद्योगीहरूको अर्बाैँको लगानी जोखिममा परेको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ ।
नेपालको करिब १० हजार हेक्टर जग्गामा वार्षिक २ करोड ७४ लाख किलोग्राम चिया उत्पादन हुने गरेको छ । कुल उत्पादनमध्ये ठूलो हिस्सा अर्थात २ करोड ५६ लाख किलोग्राम चिया वार्षिक रूपमा भारततर्फ निकासी हुँदै आएको छ ।
निकासीको मुख्य बजारमै अवरोध भएपछि चिया क्षेत्र धराशायी हुने अवस्थामा पुगेको छ । यस विषम परिस्थितिमा सरकारले छिमेकी मुलुकसँग ठोस संवाद गरी समस्याको स्थायी समाधान खोज्नुपर्ने माग उद्योगीहरूको छ ।
