विराटनगर ३ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी सञ्चार माध्यमलाई बाइपास गर्न नहुने बताउनु भएको छ । सरकारले विभेद गर्न नहुने उहाँले बताउनुभयो ।
संघीय सरकारले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्रै दिने निर्णय विरुद्ध नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आह्वानमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित धर्ना कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको छ । सरकारले विज्ञापन, सूचनाहरु निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमहरुलाई पनि दिनु पर्ने बताउनुभयो ।
संघीय सरकारलाई पनि निजी क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमलाई विभेद नगर्नका लागि ध्यानाकर्षण गराउन उहाँले महासंघलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘ प्रधानमन्त्रीलाई भेट्नुहोला । ध्यानाकर्षण गराउने काम गर्नुहोला । प्रदेशसँग सूचना, विज्ञापन थोरै हुन्छ । संघीय सरकारसँग धेरै हुन्छ ।’
मुख्यमन्त्री कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै हुने बताउनु भयो । उहाँले चालु आर्थिक वर्षमै पदाधिकारीको नियुक्ती गरिने बताउनुभयो । कोशी प्रदेश सरकारले आमसञ्चार ऐन निर्माण गरेपनि अध्यक्ष, सदस्य, प्रेस रजिष्टारको नियुक्ती हुन सकेको छैन ।
धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सरकारले विभेदकारी निर्णय फिर्ता लिनुपर्ने बताउनुभयो । सरकारको निर्णयले मिडियालाइं संकटमा पार्ने काम गरेको उहाँको भनाई छ ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले सरकारको विभेदकारी निर्णय फिर्ता नगरेसम्म महासंघको आन्दोलन निरन्तर रहने बताउनुभयो । सरकारले गत चैत १८ गते सरकारी सूचना, विज्ञापनहरु सरकारी सञ्चार माध्यमलाई मात्रै दिने निर्णय गरेपछि नेपाल पत्रकार महासंघ आन्दोलित छ ।