विराटनगरमा मेगा इण्डियन एजुकेशन एक्स्पो

विराटनगर ४ जेठ । भारतका उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरूबारे एकै छानामुनि जानकारी गराउने उद्देश्यले आज विराटनगरमा ‘मेगा इण्डियन एजुकेशन एक्स्पो’ (शैक्षिक मेला) आयोजना गरिएको छ ।

इन्डो ग्लोबल फाउण्डेशन काठमाडौको आयोजना तथा विराटनगरस्थित कृष्णा एजुकेशन फाउण्डेशनद्वारा संयुक्त रुपमा सो शैक्षिक मेला आयोजना गरिएको हो ।

एक्सपोमा कक्षा १२ को परीक्षा दिएर बसेका तथा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरूलाई भारतीय कलेजका प्रतिनिधिहरूले प्रत्यक्ष परामर्श गराएका थिए । विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीलाई कलेजका विभिन्न सङ्काय, शुल्क विवरण, अन्य सम्भावित खर्च र रोजगारीको अवसर सहितका आफ्ना विशेषताहरूबारे विस्तृत जानकारी गराइएको छ ।

एक्सपोमा सहभागी विद्यार्थीमध्ये उत्कृष्ट तीन जनालाई ‘एस.जे.ई. ग्रुप अफ इन्स्टिच्युसन्स’ ले कलेज ट्युसन शुल्कमा शत प्रतिशतसम्म छुट दिने कृष्णा एजुकेशन फाउण्डेशनका सञ्चालक कृष्ण जैसवालले जानकारी दिनुभयो ।

भारतमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले विभिन्न सहर धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै विराटनगरमै एकै छानामुनि सम्पूर्ण जानकारी उपलब्ध गराउन एक्सपोको आयोजना गरिएको आयोजक इन्डो ग्लोबल फाउण्डेशन काठमाडौका निर्देशक सुदन चौहानले बताउनुभयो ।

एक्सपोमा सहभागी विद्यार्थीहरूमध्ये गोला प्रथा मार्फत दुई जनालाई एन्ड्रोइड मोबाइल समेत वितरण गरिने आयोजक समितिले जनाएको छ ।

मेलामा विराटनगर, इटहरी, धरान इनरुवा,झापा का साथै मधेश प्रदेशका सिरहा र सप्तरी लगायतका आसपासका पालिकाका विद्यार्थीहरूले अवलोकन एवं जानकारी दिएका छन् ।

विराटनगरको सिटी प्यालेसमा सञ्चालित उक्त एक्सपोमा भारतका १५ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूको सहभागिता रहेको थियो ।