विराटनगर । विराटनगरमा जारी दोस्रो नेपाल हब पुरुष टी २० क्रिकेट प्रतियोगितामा विराटनगर हब र राजविराज हब विजयी भएका छन् ।
प्रतियोगिताअन्तर्गत मंगलबार भएको पहिलो खेलमा राजविराजले इटहरी हबलाई ५ विकेटले पराजित गरेको छ । राजविराजले २ खेलमा १ मा जित र १ मा पराजित हुँदै २ अंकका साथ तेस्रो स्थानमा छ ।
सोमबार राति वर्षा भएपछि २० ओभरलाई छोट्टाएर १० ओभरको खेलमा टस हार्दै पहिलो ब्याटिङ थालेको इटहरीले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ५१ रन बनायो । आयुष पोखरेलले १८ रन र मुकेश यादवले १३ रन बनाए । बलिङमा राजविराजका नीरज सुनरैत, सुमित इसर र अजय यादवले समान २–२ विकेट लिए ।
राजविराजले पाएको ५२ रनको लक्ष्य ९ ओभर २ बलमा ५ विकेट गुमाउँदै विजयी भयो । प्लेयर अफ म्याच रोहन बिकले ४० रन बनाए । बलिङमा इटहरीका विशाल बसाइले २ विकेट लिए ।
दोस्रो खेलमा विराटनगरले उदयपुर हबलाई २६ रनले पराजित गर्दै शीर्ष स्थानमा रहेको छ । विराटनगर २ खेल जित्दै ४ अंकका साथ शीर्ष स्थानमा रहेको हो ।
टस जितेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरको खेलमा १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८५ रनको चुनौती प्रस्तुत र्गयो । आकाश यादवले ३८ रन र साहेब आलमले १७ रन बनाए । बलिङमा उदयपुरका सविन खडकाले ३ विकेट, कुलबहादुर सिग्देल र प्रयास चौधरीले समान २–२ विकेट लिए ।
८६ रनको लक्ष्य पछ्याउने क्रममा उदयपुर १८ ओभर ४ बलमा सबै विकेटको क्षतिमा ५९ रनमै समेटियो । चन्द्रवीर दासले १८ रन र कुलबहादुर सिग्देलले १० रन बनाए । बलिङमा विराटनगरका प्लेयर अफ म्याच देवराज झाले ४ विकेट, अरुण मण्डल र मनिष कामतले समान २–२ विकेट लिए ।
नेपाल क्रिकेट फाउन्डेसन र कोशी प्रदेश क्रिकेट संघको आयोजना भएको प्रतियोगिताको बुधबारको पहिलो खेल विराटनगर र सिराहा तथा दोस्रो खेल उदयपुर र इटहरीबीच हुनेछ ।