कोशी नदीमा भएको यात्रुवाहक पानीबोट दुर्घटनाको छानबिन प्रतिवेदन बुझाइयो

विराटनगर ११ मंसिर । कोशी नदीमा भएको यात्रुवाहक पानीबोट दुर्घटनाको छानबिन पूरा भएको छ । दुर्घटनाको कारण, पानीबोटको प्राविधिक अवस्था र सञ्चालन प्रणालीदेखि सम्बन्धित निकायको भूमिकासम्म अध्ययन गरेको समितिले आफ्नो प्रतिवेदन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुझाएको छ ।

भोजपुर, धनकुटा र उदयपुर जिल्लाको संगमस्थल त्रिवेणीमा गत कात्तिक ५ गते भएको दुर्घटनाको वास्तविकता पत्ता लगाउन प्रदेश सरकारले गठन गरेको समितिले स्थलगत अध्ययन र प्रमाणहरूको विश्लेषणपछि प्रतिवेदन तयार पारेको हो ।

प्रदेश सरकारको मन्त्रिपरिषद्ले गत कात्तिक १० गते प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । त्रिवेणी जलयातायात प्रालिका नाममा सञ्चालित यात्रुवाहक पानीबोट दुर्घटनामा परेपछि सरकारले घटनाको कारण पहिचान गर्न तथा भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक उपाय खोज्न समिति गठन गरेको थियो । समितिले दुर्घटनास्थलको स्थलगत निरीक्षण, सरोकारवालासँगको छलफल, उपलब्ध कागजात र प्रमाणहरूको अध्ययन तथा विश्लेषणका आधारमा प्रतिवेदन तयार गरेको जनाएको छ ।

प्रतिवेदनमा दुर्घटनाको घटनाक्रम र सम्भावित कारणसँगै पानीबोटको प्राविधिक अवस्था, सञ्चालन प्रणाली तथा सम्बन्धित सरकारी र अन्य निकायको भूमिकालाई समेटिएको छ । दुर्घटनापछि गरिएको उद्धार, राहत व्यवस्थापन र त्यस क्रममा देखिएका पक्षहरूको समेत अध्ययन गरिएको समितिले जनाएको छ । दुर्घटनाको छानबिनमा सीमित नरही समितिले जलयातायातलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारका उपायसमेत अघि सारेको छ ।

आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पानीबोट सञ्चालन, सुरक्षा व्यवस्थापन र नियमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने विषय प्रतिवेदनमा समावेश गरिएको छ । समितिले प्रतिवेदनमा प्रस्तुत गरेका निष्कर्ष र सुझाव कार्यान्वयन गर्न प्रदेश सरकारलाई आवश्यक निर्णय लिन आग्रह गरेको छ । अब प्रतिवेदनका सुझाव कार्यान्वयनका लागि प्रदेश सरकारले कस्तो कदम चाल्छ भन्ने विषयले जलयातायातको सुरक्षा र नियमन व्यवस्थामा हुने सुधारको दिशा निर्धारण गर्नेछ ।