विराटनगर खानेपानी सुधार आयोजना हस्तान्तरण, विराटनगरका एक लाख नागरिकलाई स्वच्छ पानीको लक्ष्य

विराटनगर ११ मंसिर । जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ । करिब २ अर्ब २९ जापानी येनको लागतमा निर्माण सम्पन्न भएको आयोजनाले विराटनगरका करिव एक लाख नगरवासीलाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको छ ।

आयोजना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर खानेपानी सुधार आयोजना दीर्घकालीन महत्वको परियोजना भएको बताउनुभयो। उहाँले आयोजनाबाट विराटनगरका करिब एक लाख नागरिक लाभान्वित हुने र महानगरका १५ वटा वडाका बासिन्दाले स्वच्छ खानेपानीको सुविधा पाउने बताउनुभयो ।

महानगर प्रमुख कोइरालाले खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न बाँकी वडालाई समेत समेट्ने गरी दोस्रो चरणको आयोजना सञ्चालन गर्न जापान सरकारसँग आग्रह गर्नुभयो ।

नेपालका लागि जापानी राजदूत तोरु माइदाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव मनाइरहेको वर्षमा आयोजना सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । जापान लामो समयदेखि नेपालको विकास साझेदार रहँदै आएको उल्लेख गर्दै उहाँले मेलम्ची खानेपानी आयोजना र पोखरा खानेपानी सुधार आयोजनामा पनि जापानले सहयोग गरेको स्मरण गर्नुभयो ।

विराटनगरमा अर्को महत्वपूर्ण खानेपानी आयोजना सम्पन्न गर्न पाउँदा जापान सरकार गौरवान्वित भएको उहाँको भनाइ थियो । नेपाल खानेपानी संस्थानले पाइप जडानको काम पूरा गरेपछि प्रणाली औपचारिक रूपमा सञ्चालनमा आउने र विराटनगरको कुल जनसङ्ख्याको करिब ४० प्रतिशत अर्थात् ९३ हजार नागरिकले स्वच्छ तथा सुरक्षित खानेपानी पाउने उहाँले बताउनुभयो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रतिनिधि इन्डो केइले पानी मानव जीवन र समाजका लागि अपरिहार्य रहेको बताउनुभयो । सुरक्षित र भरपर्दो खानेपानी आपूर्ति जनस्वास्थ्य सुधारका लागि मात्र नभई नागरिकको जीवनस्तर उकास्न, आर्थिक गतिविधि बढाउन र दिगो सहरी विकासका लागि समेत महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।

नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारले आयोजनाबाट विराटनगरको खानेपानी आपूर्तिमा सुधार आउने विश्वास व्यक्त गर्दै बाँकी वडालाई समेटेर दोस्रो चरणको परियोजना सञ्चालन गर्न आग्रह गरे।

सन् २०२४ जुन २५ मा निर्माण सुरु भएको आयोजना सन् २०२६ अक्टोबर १४ मा सम्पन्न भएको हो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोगमा जापानको एम/एस शिमिजु कर्पोरेसनले नेपाल खानेपानी संस्थानअन्तर्गत आयोजना निर्माण गरेको हो ।

आयोजना अन्तर्गत विराटनगरमा ५६ दशमलव २६ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । र्यापिड स्यान्ड फिल्टर प्रविधिमा आधारित चारवटा खानेपानी प्रशोधन केन्द्र निर्माण गरिएको छ । चारवटा पानी भण्डारण ट्याङ्की र तिनसँग सम्बन्धित पम्प भवन, एउटा ओभरहेड पानी ट्याङ्की तथा एउटा प्रशासनिक भवन निर्माण गरिएको छ ।

परियोजना अन्तर्गत एक हजार १९८ घरधुरीमा खानेपानीका धारा जडानसमेत गरिएको छ । आयोजनाको सञ्चालन तथा व्यवस्थापन नेपाल खानेपानी संस्थानले गर्नेछ । यस आयोजनाले विराटनगरको खानेपानी आपूर्ति प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउनुका साथै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउनेअपेक्षा गरिएको छ ।