विराटनगर २ मंसिर । नेकपा (एमाले) को राष्ट्रिय भेलाले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ। भेलामा महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचन तयारीसम्बन्धी कार्ययोजना पेस गर्नुभएको छ ।
पार्टीलाई बलियो, व्यवस्थित र जनमुखी शक्तिका रूपमा प्रस्तुत गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित सिङ्गो पार्टीपङ्क्ति स्थानीय निर्वाचनको तयारीमा केन्द्रित हुनु आवश्यक रहेको प्रस्तावमा उल्लेख छ । पार्टीले यसअघि नै निर्वाचनको तयारीलाई समेत दृष्टिगत गरी हरेक पालिका तहमा पार्टी जागरण अभियानको संयोजन गर्ने गरी केन्द्रीय प्रतिनिधि खटाएको उनले जानकारी गराउनुभयो ।
प्रतिवेदनमा भनिएको छ, ‘कुनै पनि पालिकामा खटाइएका केन्द्रीय प्रतिनिधिले समय दिन नसकेको अवस्थामा नयाँ प्रतिनिधिको व्यवस्था गर्ने अधिकार प्रदेश इन्चार्जलाई प्रदान गरिएको छ। सम्बन्धित तहका कमिटीहरू नै निर्वाचन परिचालनका आधार कमिटी हुनेछन् ।’ यसका लागि आधारभूत तहका कमिटीको सुदृढीकरण, स्थानीय राजनीतिक अवस्थाको विश्लेषण, जनसम्पर्क विस्तार, सक्षम उम्मेदवार छनोट, प्रभावकारी प्रचार तथा निर्वाचन परिचालनलाई योजनाबद्ध रूपमा सञ्चालन गर्नु आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा निर्वाचनको पर्याप्त समयअघि नै सम्भावित उम्मेदवार तथा आकाङ्क्षीहरूको पहिचान गरिनुपर्नेमा जोड दिइएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘उम्मेदवार छनोट गर्दा पार्टीप्रतिको निष्ठा, जनसम्पर्क, सामाजिक प्रतिष्ठा, इमानदारी, कार्यक्षमता, नेतृत्व क्षमता, सार्वजनिक छवि, स्थानीय मुद्दाको ज्ञान तथा जनस्वीकार्यतालाई मुख्य मापदण्ड बनाउनुपर्छ ।’ उम्मेदवार छनोट प्रक्रियामा वडा, पालिका र जिल्ला कमिटीको सुझावलाई मुख्य आधार बनाउनुपर्ने उल्लेख छ । सम्भावित उम्मेदवारको जनस्वीकार्यता मापन गर्न आवश्यकताअनुसार आन्तरिक सर्वेक्षण तथा कार्यकर्ता परामर्श गर्नुपर्ने विषय प्रतिवेदनमा समेटिएको छ ।
उम्मेदवार छनोटमा पहुँच, लेनदेन, गुटगत प्रभाव र अन्तिम समयको अस्वाभाविक परिवर्तनलाई निरुत्साहित गरिने प्रतिवेदनमा उल्लेख छ । सम्बन्धित कार्यकर्ताको भावना र सुझावका आधारमा उम्मेदवार चयन भएपछि उनीहरूलाई स्थानीय शासन, पार्टी नीति, जनसम्पर्क, सञ्चार, निर्वाचन कानुन तथा प्रतिबद्धतापत्रका विषयमा प्रशिक्षण दिनुपर्ने प्रतिवेदनमा भनिएको छ ।