छठ पर्व शुरु, आज ‘नहाय–खाय’

विराटनगर २७ कात्तिक । आस्था र श्रद्धाको पर्व छठको धार्मिक तथा पारम्परिक विधि शुक्रबारदेखि सुरु भएको छ । व्रतालुहरूले शुक्रबार ‘नहाय–खाय’ विधि सम्पन्न गर्दै चार दिनसम्म मनाइने छठ पर्वको औपचारिक सुरुवात गरेका छन् ।

नहाय–खायका दिन व्रतालुहरूले स्नान गरी शरीर र मनलाई शुद्ध पारेपछि चोखो नितो गरेर लौकाको तरकारी र भात खाने गर्छन् । लौकालाई छठमा सबैभन्दा शुद्ध तरकारीमध्ये एक मानिने भएकाले यस दिन बजारमा यसको माग अत्यधिक हुने गर्छ ।

छठ पर्व नसकिएसम्म व्रतालुहरूले माछामासुलगायत तामसिक भोजन गर्दैनन् । शुक्रबार नहाय–खाय गरेका व्रतालुहरूले शनिबार साँझ ‘सेवई–रोटी’ खानेछन् । ‘खरना’ भनिने यस विधिमा व्रतालुहरूले घरमा छठी माताको पूजा गरी दूध र गुडमा पकाइएको खिर (सेवई) तथा पुरी खाने गर्छन् ।

यसलाई प्रसादका रूपमा परिवारका सदस्य, इष्टमित्र र छरछिमेकलाई समेत वितरण गर्ने परम्परा छ । कतैबाट निम्तो नपाएका वा प्रसाद खाने अवसर नजुरेकाहरूले पनि व्रतालुसँग मागेर सेवई–रोटी प्रसादका रूपमा खाने चलन छ ।