न्यायपूर्ण समाज निर्माणका लागि फाल्गुनन्दकाे याेगदान अतुलनीय : मुख्यमन्त्री कार्की

विराटनगर २५ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय विभूति तथा किरात धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको १४१औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले आज शुभकामना सन्देश जारी गर्दै महागुरु फाल्गुनन्दप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुभएको छ। उहाँले जन्मजयन्तीको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ।

सत्य, अहिंसा, शान्ति, समानता, नैतिकता र सामाजिक सद्भावका पक्षधर महागुरु फाल्गुनन्दले समाजमा विद्यमान कुरीति, कुसंस्कार र विभेदको अन्त्य गर्दै सभ्य, सुसंस्कृत तथा न्यायपूर्ण समाज निर्माणका लागि पुर्‍याउनुभएको योगदान अतुलनीय रहेको मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभएको छ।

महागुरु फाल्गुनन्दले देखाउनुभएको सत्य, शान्ति, मानवता र सामाजिक सुधारको मार्ग तथा उहाँका अमूल्य शिक्षाहरू आज पनि सबैका लागि उत्तिकै प्रेरणादायी र अनुकरणीय रहेको मुख्यमन्त्री कार्कीको सन्देशमा उल्लेख छ।

उहाँले महागुरु फाल्गुनन्दका विचार, आदर्श र योगदानलाई आत्मसात् गर्दै सामाजिक सद्भाव, समानता र मानवताको भावनालाई व्यवहारमा उतार्न सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ। यसै अवसरमा उहाँले भाषा दिवसको पनि शुभकामना दिनुभएको छ।