डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै

विराटनगर १४ कात्तिक । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । पानीको भरमा सत्याग्रह गरिरहेका उहाँले रगतमा चिनीको मात्रा घटेको र बोल्नसमेत गाह्रो हुन थालेको बताउनु भएको छ ।

२५ औँ सत्याग्रहको तेस्रो दिनमा आइपुग्दा डा. केसीले शारीरिक कमजोरी महसुस गर्न थाल्नु भएको छ । ‘सुगर घटेको रहेछ,’ उनले भने, ‘अब बोल्न पनि गाह्रो हुन थाल्यो ।’ डा. केसीको स्वास्थ्य परीक्षणका लागि शुक्रबार साँझ इलाम अस्पतालको टोली पुगेको थियो । त्यसयता भने स्वास्थ्य परीक्षणका लागि टोली नगएको बताइएको छ।

इलाम अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुरले डा. केसीको टोलीबाट पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त नभएको बताउनुभयो । उहाँका अनुसार अस्पतालले डा. केसीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चार सदस्यीय स्वास्थ्य टोली तयारी अवस्थामा राखेको छ ।

आवश्यक परेको अवस्थामा तत्काल उपचार सेवा उपलब्ध गराउने गरी अस्पताल तयारी अवस्थामा रहेको उनले जानकारी दिनुभयो । यसैबीच, डा. केसीको सत्याग्रहप्रति सरकारले पर्याप्त चासो नदेखाएको बताइएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा नीतिगत विचलन अन्त्य, सुशासन कायम तथा सार्वजनिक स्वास्थ्य संस्थाको प्रभावकारी सञ्चालनको माग गर्दै उनले इलाम बजार नजिकै नारायणस्थान मन्दिरको धर्मशालामा सत्याग्रह सुरु गर्नुभएको हो ।