विराटनगर ९ कात्तिक । कोशी प्रदेशमा दसैँको अवधिमा ४ सय १३ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर २२ जनाको मृत्यु भएको छ । मृतकमध्ये १ जना सवारी चालकसहित १७ जना पुरुष र २ जना बालिकासहित ५ जना महिला रहेका छन् ।
दुर्घटनामा परेर ७ सय ४६ जना घाइते भएका छन् । घाइतेमध्ये ३१ पुरुष र ५ महिला गरेर ३६ जनाको अवस्था गम्भीर छ । ७ सय १० जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते हुनेमध्ये ७१ जना सवारी चालक छन् । चालकहरु सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ वटा चौपाया पनि मरेका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका निमित्त प्रमुख एवं इन्स्पेक्टर विकाश थपलियाका अनुसार कोशीका १४ जिल्लामध्ये दसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सबैभन्दा धेरै दुर्घटना मोरङमा भएका छन् । दसैंको अवधिमा मोरङमा १ सय ७० वटा दुर्घटना भएका छन् । दुर्घटनामा ४ जनाको मृत्यु हुनुका साथै २ सय ९१ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जानकारी इन्स्पेक्टर थपलियाले दिए ।
उनका अनुसार दुर्घटनामा भएको मानवीय क्षतिको संख्या भने सुनसरीमा धेरै छ । सुनसरीमा ८७ वटा दुर्घटना हुँदा चालकसहित ८ पुरुष र २ महिला गरेर १० जनाको मृत्यु भएको थपलियाले बताए । दुर्घटनामा परेर सुनसरीमा १ सय ५६ जना घाइते भएकामध्ये १४ जनाको अवस्था गम्भीर छ ।