महानगर उपप्रमुख कार्कीकाे नेतृत्वमा विराटनगरमा सरसफाइ अभियान

विराटनगर २४ असाेज । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा विराटनगर–धरान सडकखण्डमा सरसफाइ अभियान सञ्चालन गरिएको छ।

महानगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले प्रत्येक शनिबार बिहान ६ देखि ८ बजेसम्म सञ्चालन गरिने अभियानको दोस्रो हप्ता शनिबार सरसफाइ गरिएको हो।

महानगरपालिकाको अगुवाइमा सञ्चालन भइरहेको अभियानमा महानगरपालिकाका कर्मचारी तथा सरसफाइकाे क्षेत्रमा कार्यरत फुलबारी नेपाल, स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल, सगरमाथा मल्टी सर्भिस, गो ग्रीन विराटनगरलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।

उपप्रमुख कार्कीको नेतृत्वमा भएको अभियानले सडक तथा सार्वजनिक स्थलको सरसफाइसँगै वातावरण संरक्षण र नागरिकमा सरसफाइप्रतिको जिम्मेवारीबोध बढाउने लक्ष्य राखेको जनाइएकाे छ ।

प्रत्येक शनिबार दुई घण्टा सञ्चालन हुने अभियानलाई निरन्तरता दिइने उपप्रमुख कार्कीले बताउनुभयाे ।

महानगरलाई सफा र व्यवस्थित बनाउने अभियानलाई सफल बनाउन सबै नगरवासीले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न उहाँले आग्रह पनि गर्नु भएकाे छ।