विराटनगर ३१ भदौ । कोशी प्रदेशमा २० लाख ६३ हजार ७२५ जनाले जीवन बीमा गराएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत असार मसान्तसम्मको तथ्याङ्कअनुसार कोशी प्रदेशमा जीवन बीमाबाट २६ अर्ब १६ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।
देशभर संकलन हुने जीवन बीमा शुल्कमा कोशी प्रदेशको योगदान १२ दशमलव ३० प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । प्रदेशमा बीमा सेवाको विस्तारसँगै बीमा कम्पनीका ३०३ वटा कार्यालय सञ्चालनमा रहेका छन् भने ७७१ कर्मचारी परिचालित छन् ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक सचिन राईका अनुसार कोशीमा १९ हजार ९० वटा पशुपंछी बीमा गरिएको छ । यस्तै, निर्जीवन बीमातर्फ ४ लाख ४९ हजार ४२७ वटा बीमा गरिएको छ ।
बीमाको पहुँच अझै ग्रामीण क्षेत्रसम्म विस्तार गर्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि सञ्चारमाध्यम तथा पत्रकारको भूमिका महत्वपूर्ण हुने राईले बताउनुभयो । उहाँले बीमासम्बन्धी जानकारी र यसको महत्व ग्रामीण तहसम्म र्पुयाउन पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले बुधबार कोशी प्रदेशका पत्रकारहरूसँग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा प्राधिकरणका सहायक निर्देशक पुष्पा खनालले नेपालमा हाल ३७ वटा बीमा कम्पनी सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जीवन बीमा कम्पनी, दुई वटा पुनर्बीमा कम्पनी र सात वटा लघुबीमा कम्पनी रहेका छन् । प्राधिकरणले बीमा क्षेत्रको नियमनकारी कार्य, सुपरीवेक्षण, अर्धन्यायिक कार्य तथा प्रवद्र्धनात्मक कार्य गर्दै आएको खनालले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काले कोशी प्रदेशका १ हजार २१७ जना पत्रकारको दुर्घटना बीमा गरिएको जानकारी दिनुभयो । दुर्घटना बीमामार्फत प्रतिव्यक्ति १० लाख रुपैयाँसम्मको जोखिम रक्षावरण हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जुङ तथा नेपाल बीमा प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक सचिन राईलगायतले बीमाको पहुँच विस्तार र यसको प्रभावकारिताबारे धारणा राख्नुभएको थियो ।