विराटनगर ३१ भदौ । विराट मेडिकल कलेज टिचिङ हस्पिटलअन्तर्गतको हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्ट (एचपीईडी) ले राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । भोली असोज १ देखि ३ गते सम्म विराटनगर मेडिकल कलेज टिचिङ हस्पिटल परिसर बुढीगंगामा स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रसँग सम्बन्धित राष्ट्रिय सम्मेलन हुने भएको हो ।
‘ स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रमा नेतृत्व : नवप्रवर्तन, समावेशिता र प्रभाव’ भन्ने नाराका साथ तीन दिन सम्म चल्ने राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, फिलिपिन्स र बेलायत (यूके) लगायतका देशबाट ३०० भन्दा बढी स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्य शिक्षा विज्ञ सहभागी हुने विराट मेडिकल कलेजका एचपीईडी विभागका अध्यक्ष तथा एचपीईडी–कन २०२६ का अध्यक्ष प्रा.डा. हेमसागर रिमालले आज विराटनविराट मेडिकल कलेजमा स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रका विज्ञको सम्मेलन हुदै गरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
सम्मेलनमा स्वास्थ्य व्यवसाय शिक्षासँग सम्बन्धित विविध विषयमा छलफल, प्रस्तुति, अन्तरक्रिया तथा परामर्श गरिने आयोजकले जनाएको छ । कार्यक्रममा मेडिकल डाक्टर, नर्स, एलाइड हेल्थ प्रोफेसनल, फिजियोथेरापिस्ट, पब्लिक हेल्थ विज्ञलगायत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित शिक्षक तथा विद्यार्थी, नीति निर्माता र अन्तर्राष्ट्रिय प्रशिक्षकको सहभागिता रहनेछ ।
स्वास्थ्य व्यवसाय शिक्षा प्रणालीलाई समयसापेक्ष र विश्वव्यापी मापदण्डअनुकूल परिमार्जन गर्ने विषयमा सम्मेलन केन्द्रित हुने जनाइएको छ। स्वास्थ्य व्यवसायसँग सम्बन्धित तालिम तथा शिक्षण प्रणालीमा देखिएका चुनौती, अवसर र सम्भावनाका विषयमा विज्ञहरूबीच छलफल हुने आयोजकको भनाइ छ ।
सम्मेलनमा गुणस्तरीय तथा सुरक्षित स्वास्थ्य सेवा जनशक्ति उत्पादन गर्न आवश्यक ज्ञान, सीप तथा दक्षताका विषयमा समेत छलफल हुने छ। नयाँ प्रविधिको प्रयोग र पाठ्यक्रममा नयाँ अवधारणाको समावेशमार्फत दक्षतामा आधारित चिकित्सा शिक्षालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयलाई पनि सम्मेलनमा प्राथमिकता दिइनेछ ।
आयोजकका अनुसार सम्मेलनबाट नेपालमा स्वास्थ्य व्यवसाय शिक्षा तथा सेवाको सुधारका लागि नयाँ दिशा र मार्गदर्शन प्राप्त हुने अपेक्षा गरिएको सम्मेलन संयोजकमा डा. कोपिला अग्रवालले बताउनुभयो ।
विराट मेडिकल कलेजमा सन् २०१६ मा स्थापना भएको एचपीईडीले आफ्नो स्थापनाको १० औँ वार्षिकोत्सवको अवसर पारेर ‘एचपीईडी–कन २०२६’ नामक राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको अध्यक्ष प्राडा रिमालले बताउनुभयो ।