संविधान दिवसको अवसरमा रोड रेस र ब्याडमिन्टन प्रतियोगिता हुँदै

विराटनगर ३१ भदौ । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले संविधान दिवसको अवसर पारेर रोड रेस र ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको सहयोग र समन्वयमा बोर्डले असोज १ र २ गते ब्याडमिन्टन प्रतियोगिता र असोज २ गते रोड रेस आयोजना गर्ने भएको हो ।

बोर्डले आयोजना गर्ने ब्याडमिन्टन प्रतियोगितामा कोशी प्रदेशभित्रका जनप्रतिनिधि, निजामती कर्मचारी, शिक्षक, सुरक्षा निकायलगायत सरकारी निकायको सहभागिता रहने बोर्डका सदस्य सचिव विप्लव घोषले बताउनु भयो । उहाँले महिला र पुरुष दुई विधामा प्रतिस्पर्धा हुने प्रतियोगिताको प्रथम हुने टिमलाई २५ हजार नगद, दोस्रोलाई २० हजार नगद र तेस्रोलाई १५ हजार नगदसहित सम्मान–पत्र प्रदान गरिने जानकारी दिनुभयो । ब्याडमिन्टन प्रतियोगिताका खेलहरू शहीद रंगशालास्थित कभर्ड हलमा हुनेछ ।

रोड रेस अन्तर्गत ५० वर्ष उमेर भन्दामाथिका लागि २ किलोमिटर रेस र १५ वर्ष उमेर भन्दा मुनिका लागि ३ किलोमिटर रेस आयोजना गरिने भएको छ । महिला र पुरुष गरी दुई विधामा प्रतिस्पर्धा हुने रेसमा प्रथमलाई २५ हजार नगद, दोस्रोलाई २० हजार नगद र तेस्रोलाई १५ हजार नगदसहित सम्मान–पत्र प्रदान गरिने सदस्य सचिव घोषले जानकारी दिनुभयो ।

घोषले ५० वर्ष उमेर माथिको रेसका लागि शहीद रंगशाला, शनिहाट चोक, मेनरोड, जलजला चोक, हस्पिटल चोक हुँदै शहीद रंगशाला र १५ वर्ष उमेर भन्दा मुनिका लागि शहीद रंगशाला, तीनपैनी, गोल्छा चोक, जलजला चोक, हस्पिटल चोक हुँदै शहीद रंगशालामा टुंगिने तय भएको बताउनु भयो ।