राधाकृष्ण रथयात्रा भव्यरुपमा सम्पन्न, उच्छृङ्खल गतिविधि गर्ने ११३ जना पक्राउ

विराटनगर २१ भदौ । विराटनगरको ऐतिहासिक ५९ औँ राधाकृष्ण रथयात्रा भव्यताका साथ सम्पन्न भएको छ । विराटनगर–१ स्थित तीनपैनी चोकमा रहेको राधाकृष्ण मन्दिरपरिसरमा शनिबार विशेष पूजाआजापश्चात् दिउँसो साढे ३ बजेदेखि रथयात्रा सुरु भएको थियो ।

मन्दिरपरिसरबाट सुरु भएको रथयात्रा तीनपैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक र महेन्द्र चोक, बरगाछी हुँदै दुर्गा चोक पुगेर पुनः राधाकृष्ण मन्दिरमा राती ९ वजे रथ मन्दिरमा पुगी विसर्जन भयो ।

करिब आठ किलोमिटर दुरीको यस यात्राका क्रममा विभिन्न ४४ स्थानमा रथ विश्रामको व्यवस्था मिलाइएको थियो । रथयात्राको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार एक हजार पाँच सयभन्दा बढी प्रहरी ड्युटीमा खटिएका थिए ।

भिडभाडको निगरानी गर्न र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन ड्रोन क्यामराको प्रयोग गरिएको थियो । रथयात्राका क्रममा उच्छृङ्खल गतिविधि गर्ने ११३ जनालाई प्रहरीले पव्रmाउ गरेको छ । रथयात्रालाई व्यवस्थित बनाउन एक हजार एक सदस्यीय मूल समारोह समिति र २१ वटा उपसमिति फिल्डमा खटिएका थिए । श्रद्धालुको सुविधाका लागि स्वास्थ्य, खानेपानी र सरसफाइ टोली परिचालन गरिएको थियो ।

विराटनगरमा रथयात्राको इतिहास वि.सं १९८८ सालदेखि सुरु भएको हो । मन्दिर स्थापनापछि सुरुमा खटयात्रा गरिन्थ्यो । विसं २०२५ सालदेखि भने यसलाई भव्य रथयात्राका रूपमा मनाउन थालिएको हो ।