विष्णुमायाले मनायो पुस्तकालय दिवस

विराटनगर १५ भदौ । विष्णुमाया पुस्तकालय विराटनगरले आज पुस्तकालय दिवस मनाएको छ । सो पुस्तकालयले आफ्नै सभाकक्षमा सरकारले घोषणा गरेअनुसार भदौ १५ गतेलाई आधार मानेर पुस्तकालय दिवस मनाएको हो ।

सो क्रममा कार्यक्रमका प्रमुख आतिथि पूर्वन्यायाधीश भीमेन्द्रबहादुर कार्कीले पुस्तकालय हाम्रो जीवन हो, यसको संरक्षण, सम्बर्धन, आधुनिकीकरण र प्रविधिमैत्री विकास आजको आवश्यकता रहेकोले सरकार र निजी क्षेत्रको संयुक्त साझेदारी भएमात्र सम्भव हुने बताउनुभयो । आदर्श पुस्तकालयका अध्यक्षसमेत रहेका उहाँले आफ्नो पुस्तकालयको अस्तित्व नै नामेट हुने गरी रोटरी क्लबले पैसा र शक्तिको बलमा कब्जा गरेको र सो विषयमा न्यायालयले समेत साथ आफूलाई नदिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा महेन्द्र मोरङ क्याम्पस विराटनगर, समाजशास्त्र विभागका प्रमुख डा. चन्द्र उपाध्यायले पुस्तकालय दिवसको सन्दर्भमा, पुस्तकालयको उद्देश्य र महत्वको बारेमा प्रस्तावपत्र प्रस्तुत गरेका थिए । उहाँले आफ्नो क्याम्पसको पुस्तकालय भवन जीर्ण भएरकोले विद्यार्थीहरू पठनपाठन गर्नबाट वञ्चित भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

आयोजक संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद गौतमले आमन्त्रित सबैलाई स्वागत गर्दै पुस्तकालयको नियमित सञ्चालन र व्यवस्थापन गर्न विराटनगर महानगरपालिका र प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले उचित ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता पुस्तकालयका कार्यवाहक अध्यक्ष शिवबहादुर कार्की र सञ्चालन सहकोषाध्यक्ष विनोद सुवेदीले गरेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिक, युवा, र वयस्क तथा पुस्तकालयकर्मीहरूको सहभागिता रहेको थियो ।