प्रधानमन्त्री शाहले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिने

विराटनगर १० भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने भएका छन्। प्रधानमन्त्री बनेपछि उनले पहिलोपटक प्रतिनिधिसभा नियमावलीमा रहेको व्यवस्थाअनुसार सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न लागेका हुन ।

प्रतिनिधिसभा नियमावलीको परिच्छेद–९ मा प्रधानमन्त्रीसँग प्रश्नोत्तरसम्बन्धी व्यवस्था छ। नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुपर्ने हुन्छ। सांसदले लिखित प्रश्न दर्ता गराउने र प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर जवाफ दिने व्यवस्था भए पनि शाहले जेठ, असार र साउनमा नियमित रूपमा प्रश्नोत्तरमा सहभागी भएका थिएनन्।

सभामुख डीपी अर्यालले गत १ भदौको बैठकमा प्रधानमन्त्रीलाई नियमावलीअनुसार संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए। बुधबारको प्रश्नोत्तरका लागि विभिन्न दलका ११ सांसदले प्रश्न दर्ता गराएका छन ।

यसैबीच, प्रधानमन्त्री शाहले चिकित्सकको सिफारिसअनुसार संसद्मा कालो चस्मा लगाउन पाउनुपर्ने भन्दै संसद् सचिवालयमा पत्र पठाएका छन्। २२ साउनमा वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराएका शाहलाई उज्यालोमा देख्न कठिनाइ रहेको आधारमा चिकित्सकले सनग्लास प्रयोग गर्न सुझाव दिएका थिए ।

नेत्ररोग विशेषज्ञ डा. सचित ढकालले आवश्यकताअनुसार सनग्लाससँगै कार्बाेक्सिमिथाइलसेल्युलोज ०.५ प्रतिशतको आई ड्रप प्रयोग गर्न सिफारिस गरेका छन ।