विराटनगर ६ भदौ । मोरङको धनपालथान गाउँपालिकामा सहास नेपालले यूवाहरु र जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग संवाद कार्यक्रम गरेको छ ।
शुक्रबार गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा स्थानीयवासीले कृषि तथा पशुपालन, पालिकाले प्रदान गरिरहेको स्वास्थ्य सेवा प्रवाह, उच्च शिक्षाका लागि छात्रबृत्ति, सीपमुलक तालिम, खानेपानीको राम्रो प्रवन्ध हुनुपर्ने, रैथानेवालीको संरक्षण, बीउ बैंकको स्थापना, यूवा लक्षित कार्यक्रम सञ्चालनहुनु पर्ने बताएका थिए ।
सहास नेपालको यूवा सशक्तिकरण तथा पर्यावरणमैत्री उद्यमशिलता र खाध्य तथा पोषण सुधार परियोजना अन्तरगत आयोजित संवाद कार्यक्रममा गाउँपालिका अध्यक्ष जिवछप्रसाद गच्छदारले गाउँपालिकाले यूवा लक्षित तथा सीपमुलक कार्यक्रमहरु अघि बढाएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा यूवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले खानेपानीको पहुँच विस्तारको कार्यक्रम, सुत्केरी महिलाका लागि निशुल्क एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाईने, पशु सेवा, मानव विकास र पोषणमा विशेष वजेटको प्रवन्ध गरिएको बताउनुभो । उहाँले रैथाने बालीको संरक्षणको कार्यक्रम ल्याईने बताउनु भएको छ । सीपमुलक तालिम कार्यक्रमलाई पनि थप व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी वडाध्यक्षहरु वडा नं. २ का पंकजकुमार मण्डल,३ का नागेश्वर मण्डलर वडा नं. ७ का सन्तोषकुमार मण्डलले चालु आर्थिक वर्षको कार्यक्रमहरु कार्यानयनका चरणमा रहेको बताउनुभयो । उहाँहरुले सीपमुलक तालिमहरुलाई थप प्रभावकारी बनाईने प्रतिबद्धता जनाउनुभयो । संवाद कार्यक्रममा गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख भाग्यनारायण यादव, सामाजिक शाखा प्रमुख ज्ञानेन्द्रकुमार सिंह, पशुपंक्षी शाखा प्रमुख दिपेश प्रसाइँ, शिक्षा शाखा प्रमुख सीता भट्टराई, स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठ, रोजगार शाखा संयोजक जितेन्द्रकुमार मण्डल, महिला विकास निरीक्षक सञ्जुकुमारी महतो र योजना शाखा प्रमुख दिनेश ढुङ्गानाले चालु आर्थिक वर्षमा आफ्नो शाखाले सञ्चालन गर्ने कार्यक्रमबारे जानकारी दिनु भएको थियो ।
सहास नेपालले सन् २०२५ मार्चदेखि धनपालथानका तीन ४ वटा वडाहरुमा यूवा सशक्तिकरण तथा पर्यावरणमैत्री उद्यमशिलता र खाध्य तथा पोषण सुधार परियोजना सञ्चालन गरिरहेको परियोजना संयोजक जीतवल राईले जानकारी दिनुभयो । उहाँले कार्यक्रममा महिला, दलित, जनजाती, अतिविपन्नहरुको सशक्तिकरण र संस्थागत विकास, कृषि सम्वन्धी क्षमता विकास तथा सहयोग, पशुपालन सम्वन्धी क्षमता विकास तथा सहयोग, जलबायु परिवर्तनका असर न्युनीकरण, यूवा सशक्तिकरण र परिचालन र यूवा उद्यमशिलताको क्षेत्रमा काम भईरहेको बताउनुभयो । परियोजना संयोजक राईले भन्नुभयो,‘ धनपालथानमा एउटा यूवा समूह र २८ वटा विपन्न कृषक समूहसँग काम गरिरहेका छौं ।’ संवाद कार्यक्रम विशेषगरि यूवा समूहको भएको उहाँले बताउनुभयो ।
