सुकुना माविका छात्रामाथि दुर्व्यवहारको आरोप लागेका चारै जना धरौटीमा रिहा

विराटनगर, २८ साउन । मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चारै जना शिक्षक तथा कर्मचारी धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत मोरङले बुधबार चारै जनालाई धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । न्यायाधीश शिवप्रसाद खनालको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरेबमोजिम हुने गरी धरौटीमा मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

अदालतको आदेशअनुसार सुन्दरहरैँचा–१२ का ३३ वर्षीय अविरल मास्के, ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र झापाको बुद्धशान्ति गाउँपालिका–६ का ३९ वर्षीय भीमप्रसाद नेपाल धरौटी बुझाएर रिहा भएका हुन् ।

अदालतले मास्के, भट्टराई र नेपालसँग जनही १ लाख रुपैयाँ तथा गच्छदारसँग ७५ हजार रुपैयाँ धरौटी माग गरेको थियो । चारै जनाले तोकिएको धरौटी रकम बुझाएपछि रिहा भएका हुन् ।

प्रहरीका अनुसार मास्के सुकुना माविमा शिक्षक तथा लेखापालका रूपमा कार्यरत थिए । गच्छदार र नेपाल शिक्षक तथा भट्टराई विद्यालयका बस चालक हुन् । उनीहरूलाई प्रहरीले साउन ४ गते पक्राउ गरेको थियो ।

विद्यालयमा अध्ययनरत छात्रामाथि विद्यालय परिसर तथा सामाजिक सञ्जालमार्फत यौनजन्य दुर्व्यवहार गरेको आरोप उनीहरूमाथि लागेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याट तथा पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले चारै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा संकलित प्रमाण तथा विवरणसहित प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय मोरङमा बुझाएको थियो । त्यसपछि सरकारी वकिल कार्यालयले चारै जनाविरुद्ध बालबालिकाविरुद्धको कसुरअन्तर्गत छुट्टाछुट्टै चारवटा मुद्दा तयार गरी जिल्ला अदालत मोरङमा अभियोगपत्र दायर गरेको थियो ।

मुद्दा अदालतमा दर्ता भएपछि अभियुक्तहरूको बयान लिइएको थियो । बुधबार भएको थुनछेक बहसपछि अदालतले चारै जनालाई धरौटीमा रिहा गर्दै मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

पक्राउ परेपछि विद्यालयले समेत चारै जनालाई निलम्बन गरेको थियो ।