विराटनगर १८ साउन । कोशी प्रदेशमा मुख्यमन्त्री फेर्ने एमालेभित्रको विवाद पार्टीका शीर्ष नेताहरूसँगको छलफलपछि टुंग्याउने सहमति भएको छ ।
पार्टीको प्रदेश समितिले आज बोलाएको सांसदहरूको बैठकमा सचिव तथा इन्चार्ज शेरधन राईले सहमतिमा समस्या समाधान गर्ने बताउनुभयो । बैठकमा पार्टीका अर्का सचिव तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशीका अध्यक्ष घनश्याम खतिवडा, संसदीय दलका उपनेता तिलकुमार मेयाङ्बो, प्रमुख सचेतक रमेश बस्नेतसहित २५ जना प्रदेश सांसद उपस्थित थिए ।
राईले पार्टी अध्यक्षको निर्देशन अनुसार काार्कीलाई फेरेर तिलकुमारलाई मुख्यमन्त्री बनाउने गरी छलफल अगाडि बढाउनु भएको थियो । उहाँले कार्कीलाई राजीनामा गर्न सुझाउनु भएको थियो । तर, संस्थागत निर्णयबिना आफू मुख्यमन्त्रीबाट नहट्ने कार्कीले अडान लिनु भएको छ ।
दलको नेता फेरेर जाँदा पनि ओलीको निर्देशन कार्यान्वयनमा संवैधानिक जटिलता हुने देखेपछि अध्यक्षसँगकै बैठकबाट हल खोज्न इन्चार्ज राई र मुख्यमन्त्री कार्की बीचमा सहमति जुटेको स्रोतले बतायो ।
बैठक पछि मुख्यमन्त्री कार्कीले पार्टी एक ढिक्का बनाउने विषयमा सहमति भएको बताउनुभयो । नेकपासँगको सम्झौता कार्यान्वयनमा एमालेमा विवाद नरहने उहाँको भनाई छ ।