मोरङ सुन्दरहरैँचाको सुकुना माविका दुई शिक्षक र एक सवारी चालक पक्राउ

विराटनगर ४ साउन । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालय (मावि)मा अध्ययनरत छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा विद्यालयका दुई जना शिक्षक र एक जना सवारी चालकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

घटनापछि विद्यालयमा विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेको अवस्थामा प्रहरीले अनुसन्धान अघि बढाएको हो । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्के रहेका छन् ।

पक्राउ पर्नेमध्ये भट्टराई सोही विद्यालयका सवारी चालक तथा गच्छदार र मास्के शिक्षक रहेको डीएसपी मिश्रले बताए । उनका अनुसार तीनै जनालाई सोमबार बिहान करिब १० बजेतिर नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याइएको हो ।

प्रहरीका अनुसार विद्यालयका केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत सन्देश (म्यासेज) पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिने तथा अमर्यादित व्यवहार गरेको गरेका जानकारीमा आएपछि शिक्षक र सवारी चालकलाई पक्राउ गरिएको हो । छात्राहरुमाथि यौनजन्य दुव्र्यवहारसमेत हुन सक्ने आशंका गर्दै प्रहरीले अनुसन्धानको दायरा फराकिलो पारेको छ ।

घटनाको प्रकृति र संलग्नताको अन्तिम निष्कर्ष भने अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले बताएको छ । डीएसपी मिश्रले घटनाको अनुसन्धान जारी रहेको र अनुसन्धानबाट अन्य व्यक्ति पनि संलग्न रहेको पुष्टि भए कानुनबमोजिम कारबाही गरिने बताए ।

घटनालाई लिएर सामाजिक सञ्जालमा अनावश्यक तथा भ्रामक टिप्पणी नगर्न र अनुसन्धानमा सहयोग गर्न सबैलाई प्रहरीले अनुरोध गरेको छ ।