स्पेन विश्वकपको उपाधि नजिक

विराटनगर ३१ असार । युरोपेली च्याम्पियन स्पेनले विश्वकप २०२६ को सेमिफाइनलमा बलियो दाबेदार फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

अमेरिकाको टेक्सासस्थित आर्लिङ्टनमा भर्खरै सम्पन्न खेलमा स्पेनले उत्कृष्ट सामूहिक प्रदर्शन गर्दै फ्रान्सको तेस्रो विश्वकप उपाधि जित्ने सपना चकनाचुर बनायो ।

अब स्पेनले उपाधिका लागि इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको पहिलो हाफमा मिकेल ओयार्जाबलले पेनाल्टीमार्फत स्पेनलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा पेड्रो पोरोले अर्काे गोल थप्दै जित सुनिश्चित गरे ।

खेलको मध्यतिर साल्भाडोरका रेफ्री इभान बार्टनले पेनाल्टी दिएका थिए। फ्रान्सका लेफ्ट–ब्याक लुकास डिन्येले स्पेनका युवा विङ्गर लामिन यामलमाथि लापरबाहीपूर्ण ट्याकल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो ।

ओयार्जाबलले कुनै गल्ती नगरी बललाई फ्रान्सका गोलकिपरको पहुँचबाहिर प्रहार गर्दै प्रतियोगितामा आफ्नो पाँचौं गोल गरे । योसँगै फ्रान्स पहिलो पटक यस विश्वकपमा पछि परेको थियो ।

गोल खाएको केही समयमै फ्रान्सले अर्काे ठूलो धक्का बेहोर्नुपर्‍यो। सेन्टर–ब्याक विलियम सलिबा पुरानो ढाडको चोट बल्झिएपछि मैदान छाड्न बाध्य भए । उनको स्थानमा म्याक्सेन्स लाक्रोआ मैदानमा आएका थिए ।

स्पेनले त्यसपछि पनि आकर्षक छोटो पासको खेलमार्फत दबाब कायम राख्यो। फाबियन रुइज गोल नजिक पुगे पनि दायो उपामेकानोको उत्कृष्ट हस्तक्षेपले फ्रान्सलाई थप गोल खानबाट जोगायो ।

पहिलो हाफभर फ्रान्सले लक्ष्यमा एउटा पनि प्रहार गर्न सकेन । उनीहरूले जम्मा दुई प्रहार गरे पनि कुनै पनि सफल हुन सकेन ।

दोस्रो हाफमा प्रशिक्षक डिडिएर डेसच्याम्प्सले आक्रमणलाई थप बलियो बनाउन ब्राड्ली बार्काेलाको स्थानमा डिजिरे डुएलाई मैदानमा उतारे। तर त्यसको एक मिनेटपछि नै स्पेनले दोस्रो गोल गर्दै फ्रान्सलाई झनै दबाबमा पार्याे ।

स्पेनको दोस्रो गोल उत्कृष्ट सामूहिक संयोजनको परिणाम थियो। डिफेन्डर पेड्रो पोरोले डानी ओल्मोसँग पास आदानप्रदान गरेपछि पेनाल्टी क्षेत्रभित्र पुगेका उनले शान्त रूपमा बललाई जाली चुमाउँदै स्पेनको अग्रता दोब्बर बनाए ।

त्यसपछि फ्रान्ससँग स्टार खेलाडीहरूको लामो सूची भए पनि स्पेनको सुदृढ डिफेन्सको अघि उसको केही सीप लागेन । अन्ततः २–० को जितसँगै स्पेन विश्वकपको फाइनलमा प्रवेश गर्न सफल भयो ।