कोशी प्रदेश पूर्ण खोप सुनिश्चितता घोषणा

विराटनगर २९ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशलाई पूर्णखोप सुनिस्चितता घोषण गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले प्रदेश स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालय धनकुटाको संयुक्त आयोजनामा आज विराटनगरमा आयोजित समारोह वीच “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता“ भन्ने मूल नाराका साथ प्रदेशलाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना भएको घोषणा गर्नु भएको छ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले स्वास्थ्य सेवा जनताको जीवन सित प्रत्यक्ष जोडिएको हुनाले नागरिकलाई सहज एवं सरलरुपमा सेवा प्रदान गर्न सरकार सम्वेदनशील रहेको बताउनु भयो। उहाँले सबै जिल्ला अस्पतालहरुलाई स्तरोन्नति गर्दै लैजाने बताउँदै सर्वप्रथम पाँचथर, संखुवासभा, त्यस पछि अन्य जिल्लाका अस्पतालहरुलाई पनि स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले तीन तहको सरकारको समन्वय गरीे स्वास्थ्यसेवा सम्बन्धी आवश्यक नीति एवं कानुन बनाई कार्य गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले पहाडी तथा हिमाली क्षेत्रमा हुने नागरिकको पलायन रोक्न स्वास्थ्य क्षेत्रमा सुधार गर्न कानुनी रुपमा व्यवस्थापन गरिने बताउनु भयो ।

कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्वुले जनताको स्वास्थ्य प्रति सरकार सम्वेदनील रहेको धारणा राख्दै आगामी दिनमा यस उपलब्धि (दिगोपना) लाई कायम राख्न स्थानीय स्रोत साधनको अधिकतम उपयोग र समुदायको स्वामित्व आवश्यक रहने कुरामा जोड दिनुभयो । प्रदेशमा पूर्ण खोपमा छुट भएका तीन हजार ७१२ जनालाई खोप दिएको थियो ।

पूर्ण खोपमा १४ प्रकारका खोप जन्म देखि ५९ महिनासम्म खोप लगाइन्छ । कार्यक्रममा प्रदेशका १४ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, स्वास्थ्य कार्यालयका प्रमुखहरु,स्वास्थ्यस्वयम सेविकाहरुको उपस्थिति रहेको थियो ।