विराटनगर २४ चैत । नेपाल क्रिकेट सङ्घको साधारण सभा आगामी वैशाख २७ र २८ गते विराटनगरमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को सोमबार केन्द्रीय कार्यसमितिको बैठकबाट सो निर्णय पारित गरिएको हो ।
शुक्रबारका लागि बोलाइएको बैठकमा असन्तुष्ट पक्षले बहिष्कार गरेपछि बैठक सोमबार बसेको हो । सो बैठकले चारबर्से पदावधि समाप्त भएका क्यानका २० जिल्लाको कार्यकाल जेठ मसान्तसम्म थप गर्ने निर्णय गरिएको छ ।
जिल्ला सङ्घहरूले वार्षिक साधारण सभा सम्पन्न भएपछि २०८३ साल जेठ मसान्तभित्र निर्वाचन सम्पन्न गर्ने गरी मिति तय गरी क्यानमा जानकारी गराउनुपर्ने छ । यसै गरी बोर्ड बैठकले नेपाल प्रिमियर लिग
(एनपिएल) को दोस्रो संस्करणको आयव्यय अनुमोदन गर्दै सन् २०२६ को वार्षिक कार्यव्रmम तथा बजेट
अनुमोदन गर्ने निर्णय गरेको छ ।
एनपिएलको गभर्निङ काउन्सिलले बैठकमा कुल ४७ करोड ३६ लाख ५५९ रुपियाँ छ पैसा आम्दानी भएको जानकारी प्रस्तुत गरेको छ । आयव्यय विवरण अनुसार एनपिएलमा २१ करोड ९६ लाख पाँच हजार १२३ रुपियाँ खर्च भएको जनाएको छ ।