विराटनगर १७ चैत । कोशी प्रदेशमा यसवर्ष ८० हजारभन्दा बढीले एसईई परीक्षा दिँदैछन् । कोशी प्रदेशभर ३३२ परीक्षा केन्द्र र ८० हजार ९ सय १० जना परीक्षार्थी एसईईमा सहभागी हुने कोशी प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ ।
कार्यालयका अनुसार परीक्षा सञ्चालनका लागि ३ हजार ३२ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष, ४ हजार ६३ निरीक्षक, ८ सय १३ सहायक कर्मचारी, १ हजार ६ सय १५ सहयोगी कर्मचारी र ४ हजार ९ सय ८० सुरक्षाकर्मी परिचालन गरिने छ । कार्यालयले परीक्षालाई शान्त, व्यवस्थित र निष्पक्ष बनाउन सबै सरोकारवाला निकायसँग समन्वय एवं सहयोगको आह्वान गरेको छ ।
आगामी चैत १९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण तयारी कोशी प्रदेशमा अन्तिम चरणमा पुगेको छ ।
परीक्षा व्यवस्थित, मर्यादित र सुरक्षित रूपमा सञ्चालन गर्न प्रदेशभर व्यापक तयारी गरिएको शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।