विराटनगर ७ चैत । माध्यमिक शिक्षा परीक्षा ( एसईई) आगामी चैत १९ गतेदेखि शुरु हुँदैछ । चैत २८ गतेसम्म सञ्चालन हुने परीक्षामा मोरङबाट १८ हजार बढी विद्यार्थी सहभागी हुँदैछन् । कोशी प्रदेशमा मोरङबाट सवैभन्दा बढी परीक्षार्थी सहभागि हुने भएको बताईएको छ ।
मोरङमा जम्मा परीक्षा केन्द्र ६१ वटा छन् । साधारण धार तर्फ १६ हजार ६२० प्राविधिक धार तर्फ ६२६ र ग्रेड वृद्धि तर्फ ९२९ जना गरी जम्मा १८ हजार १७५ जना विद्यार्थीहरू परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ मोरङका परीक्षा शाखाका प्राविधिक सहायक राजन भट्टराईले जानकारी दिनुभयो । छात्राको सङ्ख्या ९ हजार ५ छ भने छात्रको सङ्ख्या ९ हजार १७० रहेको छ । परीक्षामा सामुदायिक विद्यालय तर्फ १७३ विद्यालय र संस्थागत विद्यालय २२६ बाट विद्यार्थीहरू परीक्षामा सहभागी हुने छन ।
सामुदायिक विद्यालयबाट ११ हजार ०४२ विद्यार्थीहरू सहभागी हुँदैछन् भने संस्थागत विद्यालयबाट ७ हजार १३३ विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन । प्राविधिक धार तर्फ १६ वटा विद्यालयहरू रहेका छन् भने प्राविधिक धारको परीक्षा केन्द्र महेन्द्र मावि गहेली विराटनगर र कबीर मावि बेलबारी मा कायम गरिएको परीक्षा शाखाले जानकारी गराएको छ ।
पुरानो ग्रेड वृद्धि तर्फको परीक्षामा २९ जना विद्यार्थी रहेका छन् र उनीहरूको परीक्षा विराटनगर स्थित गोग्राह माध्यमिक विद्यालय बरगाछी परीक्षा केन्द्र कायम गरिएको छ । मोरङमा केही सामुदायिक विद्यालयहरूलाई अब्बल विद्यालय को रूपमा हेरिएको छ । ती विद्यालयहरूबाट ४०० भन्दा बढी परीक्षार्थीहरु एसईई परीक्षामा सहभागी हुँदैछन ।
पोखरिया माध्यमिक विद्यालय विराटनगर, आदर्श माध्यमिक विद्यालय विराटनगर र सुकुना माध्यमिक विद्यालय सुन्दरहरैचाबाट ४०० भन्दा बढी परीक्षार्थीहरू परीक्षा दिँदैछन् ।