विराटनगर ३ चैत । कोशी प्रदेशका पूर्व खेलाडीको सम्मानमा विराटनगरमा मोरङ र सुनसरी जिल्लावीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ । पूर्व खेलाडीहरु अनिल श्रेष्ठ र मिन दाहालको सम्मानमा अनिल–मीन ट्रफी आयोजना गरिने भएको हो ।
नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा आगामी चैत ५–७ सम्म विराटनगर ६ स्थित मेरिलेबोन क्रिकेट मैदानमा खेल हुने आज पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । कोशी प्रदेशमा क्रिकेट खेलप्रति युवाहरुको आकर्षण वृद्धि गर्न एक दिवसीय (५० ओभर)को क्रिकेट प्रतियोगिता हुने नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा सुनसरी र मोरङका क्रिकेटका खेलाडीहरुको सहभागिता हुने कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजित राज पाण्डेले जानकारी दिनु भयो । नेपाली खेलाडीले ५० ओभरको खेलमा रन बनाउन नसक्ने कमजोरीलाई सुधार गर्न प्रतियोगिताको आयोजना गरिएको उहाँले बताउनुभयो ।
खेलाडीहरुलाई आफ्नो व्याटिङ्ग प्रति आत्मविश्वास जगाउन प्रतियोगिता आयोजनाको मुख्य उद्देश्य रहेको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष मोहम्मद साद बाबुले बताउनुभयो । ‘वेष्ट अफ थ्री’ का आधारमा विजेता घोषित गरिने उहाँले बताउनुभयो ।