झापा दमकका प्रहरी प्रमुख लम्साल सर्वाेत्कृष्ट प्रहरी घाेषित

विराटनगर ३ चैत । फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी ईलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी किशाेर लम्साल हुनु भएकाे छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी नायव उपरीक्षक लम्साललाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हाे ।

डिएसपी लम्सालले फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा ५ जस्तो अतिसंबेदनशिल निर्वाचन क्षेत्रमा शान्ति सुरक्षा तथा अमनचयन कायम गरी कुनै पनि घटना घट्न नदिई निर्वाचन सम्पन्न गराउन सफल भएको, जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियारहरु र हिरासतबाट भागी फरार भएका १९ जना प्रतिवादीहरु पक्राउ गर्न सफल हुनु भएकाे प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको   छ ।

फागुन महिनामा जम्मा ३५ वटा मुद्दा दर्ता भएकोमा जेनजी आन्दोलनसँग सम्बन्धित १० वटा मुद्दा दर्ता भई १० वटा नै फर्छ्यौट भएको, जेनजी आन्दोलनमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकलाई स्थानीय निकाय, विभिन्न संघ संस्था तथा स्थानीय बासीहरूसँग समन्वय र सहकार्य गरी भवनहरू पूर्ण रुपमा मर्मत, फर्निचर तथा विद्युतीय उपकरणहरू पर्याप्त मात्रामा कार्यालयलाई उपलब्ध गराउने कार्यमा निरन्तरता दिई नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएकाे थियाे ।

ध्वनी प्रदुषण गर्ने २१७ वटा मोटरसाईकल नियन्त्रणमा लिई कारबाही गरेको र चालु तथा पेण्डिङ मुद्दाका मिसिलहरु सम्बन्धित कार्यालयहरुसँग समन्वय गरी मिसिल पुनःनिर्माण गर्न भुमिका निर्वाह गरेको साथै हाल सम्म बिभिन्न मुद्दाका २२ जना फरार प्रतिवादीहरु समेत पक्राउ गर्न भुमिका निर्वाह गरी आम नागरिकहरु र जनमानसमा शान्ति सुरक्षाको अनुभुति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट बहन गरेकाले फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ ।