विराटनगर २४ कात्तिक । तिहारको देउसी–भैलो आधुनिक मनोरञ्जन र औपचारिकतामा सीमित हुँदै गइरहेका बेला विराटनगरका पत्रकारहरूले भने मौलिक लोकसंस्कृति र परम्पराको संरक्षणलाई प्राथमिकता दिँदै सामूहिक देउसी खेलेका छन्।
वरिष्ठ गायक हरिबहादुर खत्रीले अरुण उपत्यकाको मौलिक लोकभाका र लयलाई देउसीमा समेटेपछि पत्रकारहरूको देउसी यस वर्ष थप आकर्षक र सांस्कृतिक पहिचानयुक्त बनेको छ।
तिहारको अवसरमा पत्रकारहरूको टोली विराटनगरका विभिन्न व्यक्तित्व, उद्योगी–व्यवसायी, सरकारी कार्यालय तथा सुरक्षा निकायका कार्यालयमा पुगेर देउसी खेलेको थियो। देउसीमार्फत मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली समाजका मौलिक संस्कार, संस्कृति, परम्परा र सामाजिक सद्भावको महत्त्व उजागर गर्ने प्रयास गरिएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले बताउनुभयाे।
उहाँका अनुसार पत्रकारहरूको सामूहिक देउसीमा अरुण उपत्यकाको लोकभाकालाई विशेष प्राथमिकता दिइएको थियो। वरिष्ठ गायक खत्रीले परम्परागत लोकलयमा देउसी भट्याउँदै टोलीको नेतृत्व गरेपछि सहभागी तथा दर्शकले मौलिक सांगीतिक स्वाद लिन पाएका थिए।
आधुनिक गीतसंगीत र नयाँ शैलीको प्रभावले मौलिक देउसीको पहिचान ओझेलमा पर्दै गएको अवस्थामा खत्रीले आफ्नो क्षेत्रको लोकभाका र गायन परम्परालाई देउसीसँग जोडेर सांस्कृतिक पहिचान संरक्षणको सन्देश दिएका थिए। अरुण उपत्यकाको लोकभाका मनोरञ्जनको माध्यम मात्र नभई त्यस क्षेत्रको जीवनशैली, सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानसँग जोडिएको सम्पदा पनि हो। त्यसलाई विराटनगरको सामूहिक देउसीमा समेटिनुले एउटा भूगोलको लोकसंस्कृतिलाई अर्को भूगोलमा चिनाउने अवसरसमेत प्रदान गरेको छ।
पत्रकारहरूको टोली जिल्ला प्रशासन कार्यालय मोरङ पुग्दा प्रमुख जिल्ला अधिकारी युवराज कटेलले स्वागत गरेका थिए। तिहारले दाजुभाइ, दिदीबहिनी तथा परिवारका सदस्यबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै सामाजिक सम्बन्ध र आत्मीयतालाई पनि बलियो बनाउने उनले बताउनुभयाे।
तिहारले सबैको जीवनमा खुसी, सुरक्षा र उज्यालो ल्याओस् भन्दै उनले सबैका मनोकामना पूरा होऊन् र सबै दीर्घजीवी भएर मुलुक तथा नागरिकको सेवामा समर्पित हुन सकून् भन्ने कामना गर्नुभयाे । व्यक्तिमा चेतना र जागरुकता विकास भएपछि मात्र सामूहिक चेतना र सामाजिक जागरण सम्भव हुने उनको धारणा थियो। पत्रकारहरूले पनि आफ्नो व्यक्तित्व र क्षमता निखार्दै समाज तथा राष्ट्रको हितमा काम गर्नुपर्ने उहाँले बताउनुभयाे।
पत्रकारहरूको देउसी हेर्न प्रमुख जिल्ला अधिकारी कटेलका वृद्ध बुवाआमासमेत उपस्थित थिए। कटेलका परिवारका सदस्य, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल र सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीलगायत सुरक्षा निकायका प्रमुखहरूको पनि उपस्थिति थियो। परिवारका ज्येष्ठ सदस्यसमेत देउसीमा सहभागी हुनुले चाडपर्वले पुस्ताबीचको सम्बन्ध र आत्मीयता जोड्ने सन्देश दिएको थियो।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले पनि पत्रकारहरूले संस्कार र संस्कृतिको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयाे। आफ्नो घरमा पुगेको पत्रकारहरूको टोलीलाई स्वागत गर्दै उनले देउसी–भैलो नेपाली समाजको मौलिक परम्परा, सामाजिक एकता र आपसी सद्भावको प्रतीक भएको बताउनुभयाे।
तिहारलाई टीका, माला र मनोरञ्जनमा मात्र सीमित नगरी यससँग जोडिएका सांस्कृतिक अभ्यासलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो। नयाँ पुस्तालाई पुर्खाबाट हस्तान्तरण हुँदै आएका संस्कार र परम्पराबारे जानकारी गराउन सामूहिक देउसीजस्ता गतिविधिले महत्त्वपूर्ण भूमिका खेल्ने राउतले बताउनुभयाे। पत्रकारहरूले समाचार र लेखमार्फत मात्र नभई व्यवहारमै संस्कृति संरक्षणको अभियानमा सहभागी हुनु सकारात्मक भएको उहाँको धारणा थियो।
त्यसैगरी, नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा रंगेली नगरपालिकाका पूर्वमेयर दिलिप बगडिया पत्रकारहरूको टोली आफ्नो घरमा देउसी खेल्न आउने जानकारी पाएपछि स्वागतका लागि प्रतीक्षारत थिए। उहाँले पत्रकारहरूको सामूहिक देउसीको प्रशंसा गर्दै टोलीलाई स्वागत गर्नुभएकाे थियाे ।
नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टले पत्रकारहरूले सामूहिक रूपमा देउसी खेल्नु मनोरञ्जनका लागि मात्र नभई संस्कार, संस्कृति र परम्पराको संरक्षणप्रतिको सामाजिक जिम्मेवारी निर्वाह गर्ने प्रयास भएको बताउनुभयाे।
पत्रकारिताको दायित्व समाचार संकलन, सूचना प्रवाह र घटनाको विश्लेषणमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले समाजका मौलिक मूल्य, मान्यता, संस्कार र परम्पराको संरक्षण तथा प्रवर्धनमा पनि पत्रकारहरूको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयाे ।
समाजको पहिचान बोकेका सांस्कृतिक अभ्यासलाई जीवन्त राख्न पत्रकारहरू आफैँ पनि अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो।
