प्रदेशस्तरीय मानवअधिकार सञ्जालको त्रैमासिक बैठक सम्पन्न

विराटनगर २० कात्तिक । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको आयोजनामा कोशी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको त्रैमासिक बैठक आज विराटनगरमा सम्पन्न भएको छ ।

मानवअधिकार रक्षक समूह कोशी प्रदेशका संयोजक देवी बाँस्कोटाको अध्यक्षतामा सम्पन्न बैठकमा मानवअधिकार सम्बन्धी छैठौं राष्ट्रिय कार्यायोजना कार्यान्वयनका लागि सञ्जालको भूमिका, परियोजना अनुरुप विषयगत समिति गठनलगायतका विविध विषयमा छलफल गरिएको छ ।

बैठकले परियोजनाले उठाएका शिक्षा, स्वास्थ्य महिला, बालबालिका वातावरण, जलवायु परिवर्तन, दलित, सिमान्तकृत,अपाङ्गता सवाललाई थप प्रभावकारी बनाउन कोशी प्रदेशस्तरीय मानवअधिकार सञ्जालभित्र विषयगत उपसमिति गठन गर्ने निर्णय गरिएको छ र विषयगत उपसमिति अन्तर्गत महिला बालबालिका उप समितिमा सानिया खातुन, तुम्याहाङमा लिम्बु, दीपेन्द्रकुमार झा र कला त्रिताल रहनु भएको छ ।

शिक्षा उपसमितिमा जाहगिर मिया, बाबुराम भण्डारी, सन्दीप राय, स्वास्थ्य उपसमितिमा सन्धियाकुमारी राय, अनिमेष पोखरेल, जुनु भट्टराई हुनुहुन्छ । वातावरण उपसमितिमा लोकबहादुर विष्ट, लीलानाथ निरौला रहनु भएको छ ।

दलित, सिमान्तकृत, यौनिक तथा लैङ्गिक अल्पसंख्यक उपसमितिमा शर्मिला परियार, आकृतिरानी फुयाल, प्रकाश परियार र दुर्गा माझी रहनु भएको छ । यस्तै सञ्जालका सदस्यहरूलाई आवश्यकता आधारमा परिचयपत्र उपलब्ध गराउने, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका लागि कोशी प्रदेशस्तरीय मानवअधिकार रक्षक सञ्जाल र सञ्जालका सदस्यले स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्ने निर्णय गरिएको सञ्जालका सदस्य सचिव पुण्य अधिकारीले बताउनु भयो ।

कार्यक्रममा इन्सेक कोशी प्रदेशका संयोजक मनोहरकुमार पोखरेलले सञ्जाल गठनको उद्देश्य र सञ्जालले सञ्चालन गर्ने गतिविधिहरूका विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सञ्जालका सदस्यहरूले मानअधिकारका सवालहरू थुप्रै भएपनि प्राथमिकताका आधारमा सञ्जालले काम गर्नुपर्ने धारणा राखेका थिए ।

त्रैमासिक बैठकमा स्थानीयस्तरमा मानव अधिकार रक्षक समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण, शिक्षा, स्वास्थ्य र वातावरणको अधिकारसम्बन्धी विषयमा कानुनी प्रावधानहरूको पहुँचमा सञ्जालले प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्ने विषयमा समेत छलफल गरिएको छ ।