विराटनगर १९ कात्तिक । बालसंसार बोर्डिङ इङ्लिस स्कुल विराटनगर ५ ले नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आज देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ।
तिहार पर्वको अवसर पारेर आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विभिन्न समूह बनाएर देउसी–भैलो प्रस्तुत गरेका थिए । नेपाली परम्परागत पोशाकमा सजिएका विद्यार्थीहरूले देउसी, भैलो तथा तिहारसँग सम्बन्धित गीतमा आकर्षक नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई उल्लासमय बनाएका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले परम्परागत देउसी–भैलोका भाका तथा सांस्कृतिक प्रस्तुतिमार्फत नेपाली मौलिक संस्कृति र चाडपर्वको महत्त्व झल्काएका थिए । यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई नेपाली कला, संस्कृति, रीतिरिवाज तथा परम्पराबारे व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै आपसी सद्भाव र सामूहिक भावनाको विकासमा सहयोग पुग्ने विद्यालयको विश्वास छ ।
विद्यालयका प्रिन्सिपल खड्ग राईले नेपाली समाजका हरेक चाडपर्वलाई विद्यालयले विशेष महत्त्वका साथ मनाउँदै आएको बताउनुभयो । विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै नेपाली भाषा, संस्कृति, संस्कार र परम्पराबारे जानकारी गराउने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।
उहाँले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयले अध्ययनसँगै अतिरिक्त तथा सांस्कृतिक गतिविधिलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ ।

