सार्वजनिक जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्री नेपाल सहित कांग्रेस नेता रिजालविरुद्ध भ्रष्टाचार मुद्दा पेस

विराटनगर १७ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहित कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस गरेको छ ।

उनीहरूविरुद्ध मोरङको रिजाल एन्ड कम्पनीको नाममा ५९ बिघा ९ कठ्ठा १२ धुर जफत हुनुपर्ने जग्गा छुट दिएर भ्रष्टाचार गरेको आरोप छ । उनीहरूसहित ९७ जनालाई प्रतिवादी बनाएर मुद्दा पेस भएको र अध्ययनकै क्रममा रहेको विशेष अदालतका रजिष्ट्रार बेदराज उप्रेतीले जानकारी दिनुभयो ।

उनीहरुविरुद्ध करिब साढे ७३ करोड रुपैयाँ बिगो माग दाबी गरिएको छ । पूर्व भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ, सवारी दुर्घटनामा त्रिशूली नदीमा बेपत्ता भएका पूर्वमुख्यसचिव माधव घिमिरेकी छोरी कमला घिमिरेको नाम पनि प्रतिवादीको सूचीमा छ ।

पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी, तत्कालीन उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्ष्मण थापा, ध्रुव सापकोटा र शाखा अधिकृत बलराम निरौलालाई प्रतिवादी बनाएको छ ।