पूर्वसञ्चालकले भुक्तानी पाएर पनि बद्नाम गर्न खोजे : हाजी आँखा अस्पताल

विराटनगर १९ असोज । सेयर बिक्रीबापतको रकम भुक्तानी गरेको प्रमाणसहित अस्पताल प्रशासनले पूर्वसञ्चालकहरूको आरोप अस्वीकार गरेपछि विराटनगरको रानीस्थित हाजी आँखा अस्पतालको सेयर कारोबार विवाद थप जटिल बनेको छ । अस्पताल अध्यक्ष मन्नुकुमार गुप्ताले चार जना पूर्वसञ्चालकलाई १ करोड ५९ लाख ८७ हजार ७६३ रुपैयाँ भुक्तानी गरिसकेको दाबी गरेका छन् भने पूर्वसञ्चालकहरूले आफूहरूले सेयरबापतको रकम नपाएको बताएका छन् ।

करिब १ करोड ५८ लाख रुपैयाँ सेयरबापत नपाएको भन्दै पूर्वसञ्चालकहरूले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरेपछि अस्पताल प्रशासनले प्रेस विज्ञप्ति जारी गर्दै आरोपलाई निराधार, भ्रामक र तथ्यहीन भनेको हो । अस्पतालले बैंकिङ कारोबार तथा नगद भुक्तानीको विवरण सार्वजनिक गर्दै चारै जनालाई पाउनुपर्ने रकमभन्दा बढी भुक्तानी गरिसकेको दाबी गरेको छ ।

अस्पतालका अनुसार डा. गुणराज कट्टेललाई पाउनुपर्ने ५७ लाख ८० हजारमध्ये बैंकमार्फत ३४ लाख ९० हजार र नगद २२ लाख ९० हजार रुपैयाँ भुक्तानी गरिएको छ । ज्याउल कमरलाई पाउनुपर्ने १९ लाख ६२ हजार ६०७ रुपैयाँमध्ये १० लाख बैंकमार्फत र बाँकी नगद दिइएको दाबी गरिएको छ ।

त्यस्तै, राजेश साहलाई पाउनुपर्ने ३० लाख ६३ हजार ४०० रुपैयाँको सट्टा ३१ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरिएको अस्पतालको भनाइ छ । मो. अतहर अनसारीलाई पाउनुपर्ने ५० लाख ८० हजार १५६ रुपैयाँमध्ये ४५ लाख ७ हजार ४९५ रुपैयाँ उनका पिता कादिर अनसारीको खातामार्फत र बाँकी नगद भुक्तानी गरिएको दाबी गरिएको छ ।

अस्पताल अध्यक्ष गुप्ताले चारै जनालाई ब्याजसहित १ करोड ५९ लाख ८७ हजार ७६३ रुपैयाँ भुक्तानी गरिसकेको बताएका छन् ।

तर पूर्वसञ्चालकहरूले अस्पतालको दाबी अस्वीकार गरेका छन् । कमरले आफूले पाउनुपर्ने रकम नपाएको र गुप्ताले देखाएको व्यक्तिगत कारोबारलाई सेयर भुक्तानीसँग जोडिएको बताएका छन् । डा. कट्टेल, अनसारी र साहले पनि सेयर बिक्रीबापतको रकम नपाएको दाबी गरेका छन् ।

विवादमा ग्यारेन्टीका लागि दिइएको चेक र कालोसूचीसम्बन्धी प्रक्रिया अर्को महत्वपूर्ण पक्ष बनेको छ । गुप्ताले चारै जनालाई दिएको ग्यारेन्टी चेकमा उल्लेखित रकम बराबर बैंकमा जम्मा गरिसकेको दाबी गरेका छन् । उनले २०८३ असोज ६ र ७ गते कुमारी बैंकमा करिब १ करोड ६० लाख रुपैयाँ जम्मा गरेको बताएका छन् ।

पूर्वसञ्चालकहरूले भने बैंकमा रकम जम्मा हुँदैमा आफूहरूले सेयर बिक्रीबापतको रकम पाएको प्रमाणित नहुने बताएका छन् ।

यसरी एउटै कारोबारमा रकम भुक्तानी भएको अस्पतालको दाबी र रकम नपाएको पूर्वसञ्चालकहरूको आरोपबीच विवाद चर्किएको छ । बैंकिङ अभिलेख, नगद भुक्तानीका प्रमाण र सम्बन्धित पक्षबीच भएको कारोबारले विवादको वास्तविकता स्पष्ट पार्ने देखिन्छ ।