विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेज रोक्न शैक्षिक अभियान्ता पाण्डेको माग

विराटनगर १४ असाेज । डियर वाक ग्रुपका संस्थापक रुद्र पाण्डेले विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजहरू रोक्नुपर्ने माग गर्नु भएकाे छ । उहाँले यस्ता कलेज सञ्चालन नेपालको संविधानविपरीत रहेको दाबी गर्नुभयाे ।

बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले आफू विगत १८ महिनादेखि नेपालको शैक्षिक क्षेत्र सुधारका लागि अभियानमा सक्रिय रहेको बताउनुभयाे। गैरआवासीय नेपाली (एनआरएन) समेत रहेका पाण्डेले नेपालका विश्वविद्यालयलाई नै गुणस्तरीय र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुभयाे ।

पाण्डेका अनुसार विदेशी विश्वविद्यालयका दर्जनभन्दा बढी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालभर ५८ वटा कलेज सञ्चालनमा छन् र ती कलेजमा करिब ३६ हजार विद्यार्थी अध्ययनरत छन्।

विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजहरू गुणस्तरीय नभएको, रोजगारीको प्रलोभन देखाएर विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्ने गरेको र उनीहरूलाई ठगी गरिरहेको पाण्डेले आरोप लगाउनुभयाे। उहाँले यस्ता कलेजका कारण विद्यार्थी तथा अभिभावक समस्यामा परेको दाबी गर्दै सम्बन्धनमा आधारित कलेज सञ्चालनको विषयमा सरकारले गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयाे।

“विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा कलेज सञ्चालन गर्नु गलत हो। यो नेपालको संविधानविपरीतको कार्य हो” पाण्डेले भन्नुभयाे।

पाण्डेले विगतका सरकारले विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर सञ्चालित कलेजलाई रोक्न नसकेको आरोप पनि लगाउनुभयाे। अहिले मुलुकमा बलियो सरकार भए पनि यस विषयमा सरकारको पर्याप्त ध्यान जान नसकेको उहाँको भनाइ छ।

नेपालका विश्वविद्यालयलाई नै सुधार र सुदृढीकरण गर्नुपर्नेमा जोड दिँदै पाण्डेले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजको नियमन तथा सञ्चालनसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सरकारसँग माग गर्नुभयाे।