विराटनगर ६ मंसिर । विराटनगर महानगरपालिका वडा नं. ११ ले महानगरका दश वर्ष अनुभव र उपलब्धि पुस्तक सार्वजनिक गरेको छ ।
विराटनगरमा आज आयोजित कार्यक्रममा महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, राष्ट्रिय सभाका पूर्व सदस्य खेम नेपाली, विराटनगर महानगरपालिका पूर्व उपप्रमुख इन्दिरा कार्की लगायतले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नु भएको हो ।
संघियता पछिको विराटनगर महानगरपालिकाको विगत एक दशकको यात्रा, विकासका प्रयास, कार्यसम्पादन तथा उपलब्धिलाई समेटेर विराटनगर ११ ले पुस्तक प्रकाशन गरेको हो । महानगर प्रमुख नागेश कोइरालाले महानगरपालिकाको विगतलाई बुझ्ने, बर्तमानको मूल्यांकन गर्ने र भविष्यके दिशा पहिल्याउने महत्वपूर्ण सन्दर्भ सामग्री हुने बताउनुभयो । उपप्रमुख शिल्पा निराला कार्कीले पुस्तकले विगतको अनुभव र उपलिब्धहलाई अभिलेख गरेको बताउनुभयो । पुस्तक मार्फत आगामी दिनमा योजना निर्माण, नीतिगत सुधार र प्रभावकारी कार्यसम्पादनका लागि महत्वपूर्ण आधार प्रदान गर्ने बताउनुभयो ।
पुस्तक प्रकाशन समितिका संयोजक तथा वडा नं. ११ का वडाध्यक्ष न्यौपानेले वडाले पुस्तक प्रकाशनको लागि बनाएको योजनालाई महानगर कार्यपालिकाले अनुमोदन गरिदिएकोमा आभार व्यक्त गर्नुभयो । उहाँले पुस्तकमा पछिल्लो एक दशक लामो अभ्यासको समग्र पक्षलाई प्राथमिकताका साथ समेटिएको बताउनुभयो ।
सम्पादक तथा बरिष्ठ पत्रकार यज्ञ शर्माले विराटनगरको अनुभव समेटिएको महानगरका दश वर्ष अनुभव र उपलब्धि पुस्तक अन्य स्थानीय तहहरु,नीति निर्माता, जनप्रतिनिधि, अनुसन्धानकर्ता र आम नागरिकका लागि उपयोगी हुने बताउनुभयो ।
पुस्तकमा संघीयतामा स्थानीय तहको भूमिका, विराटनगर महानगरको परिचय, स्थापनाकाल देखि हाल सम्मको नेतृत्व र तिनको योगदानको समीक्षा, संघीयतापछिका नगरका प्रमुख, उपप्रमुखहरुको अन्तरवार्ता, वडा कार्यालयको अवस्था, १९ वटै वडाको परिचय, विगत १० वर्षमा भएका प्रयास, उपलब्धि, चुनौतिहरु लगायतलाई समेटिएको छ ।
पुस्तक सार्वजनिक कार्यक्रममा राष्ट्रियसभा सदस्य खेम नेपाली, संविधानसभा सदस्य जयराम यादव, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल साह, विराटनगर महानगर पूर्व उपप्रमुख इन्दिरा कार्की लगायतले पुस्तकमाथि चर्चा गर्नु भएको थियो ।
विराटनगर ११ ले यसअघि वडा परिचय नामक पुस्तक प्रकाशन गरेको थियो । वडाध्यक्ष न्यौपाने स्थानीय तह निर्वाचन २०७४ र ०७९ का दुवै निर्वाचनमा निर्वाचित हुनु भएको थियो ।
