विराटनगर ७ असोज । जल तथा मौसम विज्ञान विभागका मौसमविदहरूले बिहीबारदेखि कोशी प्रदेशसहित देशभर भीषण ‘आरीघोप्टे वर्षा’ (मुसलधारे वर्षा) हुने पूर्वानुमान सार्वजनिक गरेसँगै विराटनगर महानगरपालिकाले सम्भावित विपद व्यवस्थापनको तयारीलाई तीव्र बनाएको छ ।
बाढी तथा डुबानको उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरले सरोकारवाला निकायहरूसँग छलफल गरी उद्धार, राहत र पुनस्र्थापनाका लागि एकीकृत पूर्वतयारी रणनीति तयार पारेको छ ।
बुधबार महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको सरोकारवालाहरूको आपतकालीन बैठकले सम्भावित प्राकृतिक विपदको सामूहिक रूपमा सामना गर्ने निर्णय गरेको छ । बैठकमा महानगरभित्रका जोखिमयुक्त क्षेत्रको पहिचान, उद्धार टोलीको परिचालन र विस्थापितहरूको बसोबास व्यवस्थापनबारे गहन छलफल भएको छ ।
बैठकका निर्णयबारे जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले भन्नुभयोे, ‘खोला किनारका जोखिमयुक्त बस्तीमा समयमै सूचना पु¥याउने, उद्धार सामग्री सुरक्षा निकायमार्फत परिचालन गर्ने र विस्थापितहरूलाई तत्काल नजिकका विद्यालय, सामुदायिक भवन तथा मन्दिरमा सुरक्षित आश्रय दिने गरी सबै तयारी पूरा गरिएको छ ।’ उहाँले सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा उद्धार टोलीहरूलाई उच्च सतर्कताका साथ तैनाथ राखिने समेत बताउनुभयो ।
महानगर क्षेत्रभित्र बाढी र डुबानबाट प्रभावित हुनसक्ने नागरिकहरूका लागि ४४ भन्दा बढी स्थानमा अस्थायी आश्रयस्थल पहिचान गरिएको छ । महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार उद्धारपछिको बसोबास र राहत व्यवस्थापनमा कुनै समस्या नआउने गरी संरचनाहरू तयारी अवस्थामा राखिएको छ ।
बैठकलाई सम्बोधन गर्दै महानगर प्रमुख नागेश कोइरालाले भने, ‘बाढी र डुबानबाट महानगरवासीको जिउधन जोगाउन महानगरपालिका आफ्ना सम्पूर्ण स्रोत, साधन र क्षमता प्रयोग गर्न प्रतिबद्ध छ ।’ उनले विपदको समयमा सबै वडा, सुरक्षा निकाय र स्थानीयवासीलाई एकजुट भएर पूर्वतयारीमा लाग्न आह्वानसमेत गर्नुभयोे ।
बैठकमा विभिन्न वडाका अध्यक्ष तथा प्रतिनिधिहरूले आफ्नो वडामा रहेका बाढी र डुबानको जोखिमयुक्त क्षेत्रबारे जानकारी गराएका थिए । वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ७ का मधुबाबु तिवारी, ८ का वडा सदस्य पवित्रा विश्वकर्मा, ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १६ का उद्धव भुजेल र १९ का श्याम घिमिरेले खोला किनारका बासिन्दालाई पूर्वसूचना दिएर सुरक्षित स्थानमा सार्न जोड दिनुभयो ।
त्यसैगरी गैरसरकारी संस्था महासंघ मोरङकी अध्यक्ष विष्णु शर्माले विपदका बेला विशेष गरी बालबालिका, महिला र ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने भएकाले उनीहरूको विशेष सुरक्षा र हेरचाहमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सुरक्षा निकायका प्रमुखहरू मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवाल, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गेहेन्द्रबहादुर भण्डारी र नेपाली सेनाका क्याप्टेन कृष्णकुमार कार्कीले विपदको समयमा जनताको जिउधनको रक्षाका लागि सुरक्षा निकाय पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताउनुभयो ।
बैठकमा महानगरस्तरीय राजनीतिक दलका प्रतिनिधि, मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।