विराटनगर, २५ भदौ । दशैँ–तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै विराटनगरमा आगामी असोज २२ देखि ३० गतेसम्म दोस्रो संस्करणको ‘विराट ट्रेड फेयर २०८३’ आयोजना हुने भएको छ ।
विराट व्यापार संघको आयोजनामा विराटनगर–७ स्थित जैन भवनमा हुने मेलामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका करिब १०० वटा स्टल रहने संघका अध्यक्ष प्रमोद जिन्दलले जानकारी दिनुभयो । मेलामा खाद्यान्न, लत्ताकपडा, जुत्ता–चप्पल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, अटोमोबाइल, फर्निचर, कृषि उत्पादनलगायत वस्तु तथा सेवाको प्रदर्शनी तथा बिक्री गरिनेछ ।
चाडपर्वको किनमेलका लागि सीमापारि जानुपर्ने बाध्यता कम गरी स्वदेशी बजार प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको ट्रेड फेयरका संयोजक श्यामलाल पौडेल (भवेष)ले बताउनुभयो ।
मेलामा सांस्कृतिक कार्यक्रम, फुड कोर्ट, किड्स जोन तथा सेल्फी जोनलगायत आकर्षण रहनेछन्न मेला अवधिभर करिब एक लाख दर्शक आउने आयोजकको अपेक्षा छ । संघले यसअघि २०६७ सालमा आयोजना गरेको ‘विराट महोत्सव’मा ७८ वटा स्टल राखिएको थियो भने करिब ५५ हजार दर्शकले अवलोकन गरेका थिए ।