विराटनगर १२ कात्तिक । कोशी प्रदेशका उद्योगहरूको उत्पादन क्षमतामा समान्य सुधार आएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा कोशीका उद्योगहरूको भारित औसत क्षमता उपयोग ४३.१ प्रतिशत पुगेको हो । अघिल्लो आव २०८१/८२ मा भने यस्तो क्षमता उपयोग ४१.८ प्रतिशत थियो ।
उत्पादित वस्तु अनुसार गत आव भटमासको तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ११८ प्रतिशत पुगेको छ भने वनस्पति घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ६.५ प्रतिशत छ । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार गत आव कोशीमा रहेका उद्योगहरूको उत्पादनमध्ये भटमासको तेल ४५.३ प्रतिशत, वनस्पति घिउ ३०.५, तोरीको तेल ११.९, चामल २८.१, पशुदाना १५, चिनी १३.६, चाउचाउ १२.६, प्लास्टिक सामान १४.५ र घरेलु धातुका सामान उत्पादन २८७.८ प्रतिशत बढेको छ । २०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २०८२ असार मसान्तको तुलनामा कुल औद्योगिक कर्जा ८.२ प्रतिशत बढेको छ ।
गत आव बैंक तथा वित्तीय संस्थाले उद्योगहरूमा १ खर्ब ७३ अर्ब कायम भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रवाहित कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा अंश २७.२ प्रतिशत हो । गत आव कोशीको आर्थिक वृद्धि (उपभोक्ता मूल्यमा) ३.१३ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । अघिल्लो आव २.७२ प्रतिशत थियो । २०८२/८३ मा कोशीको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३२.४७, १६.६७ र ४९.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
गत आव यो प्रदेशको समग्र कृषि बाली उत्पादन १.२ प्रतिशत घटेको छ । अघिल्लो आव यस्तो उत्पादन ६.७ प्रतिशत बढेको थियो । समग्र कृषि उत्पादनमध्ये खाद्य, नगदे तथा अन्य बालीको हिस्सा ७७.७, तरकारी तथा बागवानी बालीको हिस्सा १४.८, फलफूलको हिस्सा ४.२, मसला बालीको हिस्सा २.८ र अन्य उत्पादनको हिस्सा ०.५ प्रतिशत छ । गत आव कृषि बालीले ढाकेको क्षेत्रफल ०.३ प्रतिशत घटेको छ । अघिल्लो आव ३.३ प्रतिशत घटेको थियो । गत आव कुल खेतीयोग्य जमिनमध्ये ३६.५ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । अघिल्लो वर्ष ३५.६ प्रतिशत थियो । गत आव कोशीमा दूध उत्पादन १३.२, मासु ०.२ र माछा उत्पादन १.६ प्रतिशत बढेकोमा अन्डा उत्पादन ३.२ प्रतिशत घटेको छ ।
२०८२/८३ मा काठ उत्पादन २ करोड ४८ लाख ४५ हजार १ सय ३ क्युबिक फिट छ, जुन अघिल्लो वर्ष सोही अवधिको तुलनामा ९.७ प्रतिशत कम हो । २०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा १.१ प्रतिशत कम भई ५५ अर्ब ६८ करोड ६० लाख कायम छ । प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रको कर्जा अंश ८.७ प्रतिशत छ । त्यस्तै कोशीका होटलहरूको औसत अकुपेन्सी दर ३२ प्रतिशत छ । यस्तो दर अघिल्लो वर्ष ३९.२ प्रतिशत थियो । यस प्रदेशका होटलमा वाह्य पर्यटक संख्या समीक्षा वर्षमा २१.८ प्रतिशत घटेको छ ।
अघिल्लो वर्ष २८.६ प्रतिशत बढेको थियो । कोशीमा गत आव वाणिज्य बैंकका शाखा ७ सय ५२, विकास बैंक १ सय ९३, वित्त कम्पनी ३५ तथा लघुवित्त वित्तीय संस्थाका ८ सय ५६ गरी बैंक तथा वित्तीय संस्थाका कुल १ हजार ८ सय ३६ शाखा पुगेका छन् । गत आवको तुलनामा २०८३ असार मसान्तमा कोशीमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १६.१ प्रतिशत वृद्धि भई ६ खर्ब ४१ अर्ब ९३ करोड पुगेको तथा कुल कर्जा प्रवाह ४.२ प्रतिशत वृद्धि भई ६ खर्ब ३९ अर्ब ३२ करोड पुगेको छ ।
विराटनगर, धरान, इटहरी, दमक र बिर्तामोड जस्ता सहरमा पूर्वाधार, बैंकिङ, शिक्षा र स्वास्थ्यमा लगानी विस्तार गर्न सकिने र सीमावर्ती सहरमा स्वास्थ्य पर्यटनको सम्भावना पनि रहेको अध्ययनले औँल्याएको छ ।