भोटेकोशी बाढी प्रभावितका लागि विराट स्पोट्र्स जोनद्वारा ५० हजार ८६० रुपैयाँ सहयोग

विराटनगर १८ भदौ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विराट स्पोट्र्स जोन विराटनगरले ५० हजार ८६० रुपैयाँ सहयोग गरेको छ ।

विराट स्पोट्र्स जोनले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । विपद्को समयमा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले सहयोग रकम कोषमा जम्मा गरिएको विराट स्पोट्र्स जोनका सचिव नवराज काफ्लेले जानकारी दिनुभयो ।

सचिव काफ्लेका अनुसार विपद्का कारण ठूलो जनधनको क्षति भएका बेला सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग रकम प्रदान गरिएको हो । बाढी तथा पहिरोका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

विराट स्पोट्र्स जोनले खेलकुद क्षेत्रसँगै सामाजिक गतिविधिमा समेत सक्रिय सहभागिता जनाउँदै आएको जनाएको छ । विपद्का बेला सबै क्षेत्र र समुदायबाट सक्दो सहयोग आवश्यक रहेको भन्दै संस्थाले आगामी दिनमा पनि सामाजिक कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी रहेको छ । विभिन्न संघसंस्था, व्यवसायी तथा नागरिकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्दै आएका छन् ।