विराटनगर ३१ असोज । विराटनगर–३ गोग्राह चोकमा फोर स्टार म्याट्रेस स्टुडियो सञ्चालनमा आएको छ ।
बेड तथा म्याट्रेसका विभिन्न प्रकारका उत्पादन एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको स्टुडियोको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले गर्नुभएको छ ।
स्टुडियोमा विभिन्न प्रकारका बेड, म्याट्रेस तथा निद्रालाई आरामदायी बनाउन उपयोगी उत्पादन उपलब्ध हुने सञ्चालकले बताएका छन् ।
ग्राहकको आवश्यकता र बजेटअनुसार १० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्मका उत्पादन स्टुडियोमा उपलब्ध रहेको जनाइएको छ ।
फोर स्टार म्याट्रेस कम्पनीका अध्यक्ष ताराबहादुर कट्वालले दैनिक आठ घण्टा आराम गर्ने ओछ्यानलाई अझै पनि पर्याप्त प्राथमिकता नदिने गरिएको बताउनुभयो ।
मानिसको स्वास्थ्य र आरामसँग प्रत्यक्ष जोडिएको ओछ्यानको महत्वलाई ध्यानमा राखेर बेड तथा म्याट्रेसका उत्पादनलाई स्टुडियोका रूपमा ग्राहकसमक्ष ल्याइएको उहाँको भनाइ छ । ‘आठ घण्टा आरामको साथी भनेको ओछ्यान हो, तर यसलाई अझै पनि वेवास्ता गर्ने गरिएको छ,’ कट्वालले भन्नुभयोे, ‘विश्व बजारमा उपलब्ध विभिन्न प्रकारका उत्पादन नेपाली ग्राहकलाई उपलब्ध गराउने हाम्रो उद्देश्य हो ।’ उहाँले कम्पनीका उत्पादनमा वारेन्टी तथा ग्यारेन्टीको व्यवस्था रहेको उल्लेख गर्दै स्वदेशी उत्पादनको गुणस्तर र सेवामा जोड दिनुभयो ।
सुनसरीको इटहरीमा एक दशकदेखि सञ्चालन हुँदै आएको फोर स्टार कम्पनीले आफ्नो सेवा विस्तार गर्ने क्रममा विराटनगरमा स्टुडियो स्थापना गरेको हो ।
विराटनगरका सञ्चालक दिवश बजगाईंले बेड तथा म्याट्रेसलाई मात्रै केन्द्रमा राखेर स्थापना गरिएको स्टुडियो नेपालकै पहिलो भएको दाबी गर्नुभयो । उहाँका अनुसार स्टुडियो स्थापनामा करिब एक करोड रुपैयाँ लगानी गरिएको छ । ग्राहकको माग र व्यवसाय विस्तारसँगै लगानी थप बढाउँदै लैजाने योजना रहेको उहाँले बताउनुभयो ।
स्टुडियोको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले आयातलाई निरुत्साहित गर्दै स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो ।
स्वदेशमै उत्पादित वस्तुको प्रयोगले स्थानीय उद्योगको विकाससँगै रोजगारी सिर्जनामा समेत योगदान पुर्याउने उहाँको भनाइ थियो ।
‘स्वदेशी उत्पादनलाई प्रयोग गरौँ र आफ्नै उद्योगलाई प्रोत्साहन गरौँ,’ राउतले भन्नुभयो । विराटनगरमा नयाँ स्टुडियो सञ्चालनमा आउनु सकारात्मक भएको उल्लेख गर्दै उहाँले यसले स्थानीय बजारमा सेवा विस्तार र आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममा फोर स्टारकी ब्रान्ड एम्बेसडर सम्भावना भण्डारी, विराटनगर महानगरपालिका–३ का वडाध्यक्ष बासुबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै ग्राहकलाई बेड तथा म्याट्रेसका विभिन्न विकल्प उपलब्ध गराउने लक्ष्यसहित सञ्चालनमा आएको स्टुडियोले विराटनगर तथा आसपासका क्षेत्रका उपभोक्तालाई लक्षित गरेको सञ्चालक बजगाईंले बताउनुभयो ।