विराटनगर १७ भदौ । भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई केएल दुगड ग्रुपले खाध्य सामग्री सहयोग गरेको छ । पहिलो चरणमा तत्काल रसुवा र नुवाकोटका बाढीबाट प्रभावित परिवारको राहतका लागि दुई ट्रक खाद्यान्न सामग्री राहत विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरेको जनाएको छ ।
सो सामग्री जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत होमनाथ दाहालको उपस्थितिमा हस्तान्तरण गरिएको हो । राहत सामग्रीमा प्रभावित परिवारका लागि तत्काल आवश्यक चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल , बिस्कुट, चिउरा, विभिन्न मसला लगायत दैनिक उपभोगका अत्यावश्यक खाद्य सामग्री समावेश छ ।
विपद्का कारण दैनिक जीवनयापनसमेत प्रभावित बनेका परिवारलाई तत्काल आवश्यक खाद्य सामग्री उपलब्ध गराई कठिन समयमा केही राहत पुर्याउने उद्देश्यले ग्रुपले उक्त सहयोग गरेको जनाएको छ ।
वर्षा र बाढीका कारण सडक सञ्जालमा पुगेको क्षति र बाटोको समस्याले गर्दा, ग्रुपले थप राहत सामग्रीहरू चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पुर्याउने जनाएको छ । प्राकृतिक विपद् लगायत मानविय सेवा साथै विभिन्न समाजिक कार्यमा समेत यस सस्थाले विभिन्न सहयोग गर्दै आएको छ ।