नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी

विराटनगर १६ भदौ । नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी थालेको छ । सर्वाेच्च अदालतबाट सभापति गगन थापा नेतृत्वको कार्यसमितिले अगाडि बढाएको १५ औँ महाधिवेशन रोक्न अस्वीकार गरेर देउवा समूहले छुट्टै महाधिवेशन गर्न लागेको हो ।

यसअघि देउवा समूहले राष्ट्रिय भेला राखेर देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। सो भेलाले महाधिवेशनको संयोजन गर्ने जिम्मा पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई दिएको छ । कोइरालाले शनिवार विज्ञप्ति जारी गर्दै १५ औँ महाधिवेशनको कार्यतालिका चाँडै सार्वजनिक गर्ने भन्दै गगनतिर नलाग्न नेता कार्यकर्तालाई आग्रह गरेका थिए। महाधिवेशनको कार्यतालिका ल्याउनको लागि देउवा समूहले भोलि बैठक राखेको छ ।

बैठक बुधवार दिउँसो १ बजे चुनदेविस्थित सम्पर्क कार्यालयमा सुरु हुनेछ। बैठकमा १४ औँ महाधिवेशनमा देउवा निर्वाचित केन्द्रीय पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थित हुन निर्देशन दिइएको छ । बैठकका लागि १५ औँ महाधिवेशनको तयारी, समसामयिक विषय र विविध गरेर तीन एजेन्डा तय भएको छ । इतर पक्षका नेता एनपी साउदले भोलिबाट सुरु हुने बैठकले महाधिवेशनको कार्यतालिका ल्याउने बताउनुभयो ।

संस्थापन पक्षसँग सहमतिको नभएपछि आफूहरूले बेग्लै महाधिवेशनको तयारी थालेको बताउनुभयो । कांग्रेसले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गरेर असोजको १६–१९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । तर संस्थापन पक्षलाई काउन्टर दिनको लागि इतर पक्षले महाधिवेशनको कार्यतालिका ल्याउन लागेको हो ।

सर्वाेच्चबाट आधिकारिकता विवाद टुङ्गो नलागेसम्म महाधिवेशन गर्न नमिल्ने देउवा समूहको माग थियो । तर, सर्वाेच्चले महाधिवेशनको कार्यतालिका रोक्न अस्वीकार गरिदियो ।